असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

कारबाहीमा कम्तीमा ३० आतंककारी मारिए



बामः बुर्किनाफासोको उत्तरी क्षेत्रमा अवस्थित बाम प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ३० जना आतंककारी मारिएका छन् ।

सो क्षेत्रमा आतंककारीहरुका बिरुद्धमा यहाँको सेनाले केही दिनयता देखि कारबाही सुरु गरेको थियो ।

शनिबार बिहान भएको सो कारबाहीमा परेर ३० जना आतंककारी मारिएका बुर्किनाफासोको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँ अवस्थित सैनिक क्याम्पमा ठूलो संख्याका हतियारधारीले हमला गरेका थिए । त्यसका विरुद्धमा गरिएको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हतियारधारी मारिएको बताइएको छ ।

त्यस क्रममा पाँच जना सैनिक पनि मारिएको सो विज्ञप्तिमा जनाइएको छ ।

साथै उक्त कारबाहीका क्रममा अरु १० जना सैनिक तथा आतंककारीहरु घाइते पनि भएका छन् । सो क्षेत्रमा खोजी तथा कारबाही जारी रहेको बताइएको छ । उक्त क्षेत्रमा आतंककारीहरुको खोजी कार्यलाई यहाँको सेनाले थप सशक्त बनाउने जनाएको छ । (रासस/सिन्ह्वा)

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  १ : ५३ बजे