गुल्मी – पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमालेका उप महासचिव प्रदीपकुमार ज्ञवाली, एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी , शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृह जिल्ला हो गुल्मी ।
गुल्मीमा जन्मिएर चर्चा बटुलेका केन्द्रीय नेताहरूले आफ्नो पालिकामा नै विरासत गुमाएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको जन्मथलो हो रुरु क्षेत्र गाउँपालिका । अघिल्लो निर्वाचनमा रुरु क्षेत्रमा एमालेले सानदार जित हासिल गरे पनि यस पटक भने माओवादी केन्द्रका यदु ज्ञवालीले ५ हजार ८१७ मत ल्याएर जित हात पारे । उनका प्रतिस्पर्धी एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेबाट मीनादेवी गौतम निर्वाचित भइन् ।
एमालेका सचिव गोकर्ण विष्टको जन्मस्थान इश्मा गाउँपालिका हो । विष्टको जन्मथलो भएकाले यो क्षेत्रमा एमालेको पकड मानिन्छ । तर यसपटकको निर्वाचनमा कांग्रेसका भगतसिंह खड्का अध्यक्षमा विजयी भए । उपाध्यक्षमा कांग्रेसकै पार्वती कुँवर विजयी भइन्ए ।
नेपाली राजनीतिको अर्को चर्चित नाम हो शहरी विकास मन्त्री रामकुमारी झाँक्री । झाँक्रीको निर्वाचन क्षेत्र मुसीकोट नगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसबाट हरिनारायण सापकोटा, उप मेयरमा कलम चिन्हबाट श्रीराम महतले उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट मेयरमा जीवन खरेल, उपमेयरमा गंगा श्रेष्ठले टिकटका पाएका थिए ।
मेयरमा एमालेका खरेलले ७ हजार ३९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्यासी सापकोटाले ६ हजार ६०६ मत पाए । उपमेयरमा गंगा श्रेष्ठले ७ हजार ११ मत प्राप्त गरेर एमालेबाट विजयी भइन् ।
गुल्मीको छत्रकोट गाउँपालिका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकाे पालिका भएपनि एमालले एकछत्र राज गर्दै आएको छ । यसपटक एमालेबाट अध्यक्षमा रामप्रसाद पाण्डेले ६ हजार ५८६ र उपाध्यक्षमा सावित्रा ज्ञवालीले ६ हजार ४७२ मत प्राप्त गरेर विजयी भएका छन् ।
केन्द्रीय नेताहरूले आफ्नो पालिका क्षेत्रमा आफ्नो जीतको दावी गर्दै आएपनी यसपटकको निर्वाचनबाट आफ्नो पक्षमा नतिजा ल्याउन सकेनन् । नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा एमालेले तीनवटा पालिकाको प्रमुख जितेको छ । चार स्थानीय तहमा एमालेले उपप्रमुख जितेको छ भने दुईवटा स्थानीय तहमा नेपाली कांग्रेसले उपप्रमुख जितेको हो । नेपाली कांग्रेस विजयी भएका स्थानीय तहमा रेसुंगा नगरपालिका, गुल्मीदरबार, मदाने, इस्मा र कालीगण्डकी गाउँपालिका रहेका छन् ।
माओवादी केन्द्र चन्द्रकोट, धुर्कोट, मालिका र रुरुक्षेत्र गाउँपालिकामा विजयी भएको छ । एमाले निर्वाचित भएका स्थानीय तह छत्रकोट र सत्यती गाउँपालिका तथा मुसीकोट नगरपालिका रहेका छन् । कांग्रेसले चन्द्रकोट र मालिकामा उपप्रमुख जितेको छ भने एमालेले मदाने, धुर्कोट, कालीगण्डकी र रुरुक्षेत्र गाउँपालिकामा उपप्रमुख जितेको छ ।
गुल्मीका ९३ वडामध्ये कांग्रेसले ४७, एमालेले ४०, माओवादी केन्द्रले चार वडाध्यक्ष जित्न सफल भएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले र स्वतन्त्र उम्मेदवारले एक–एक वडाध्यक्ष पद जितेका छन् । २ नगरपालिका १० गाउँपालिका रहेको गुल्मी जिल्लामा ५ पालिकामा कांग्रेस,४ पालिका माओवादी र ३ पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया