असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

चाणक्यका केही अमर वाणीहरु



१. जो व्यक्ति दरिद्र भए पनि सामर्थ्य अनुसार दान दिएर अरुको कष्टको निवारण गर्दछ, उसको दान समृद्ध व्यक्तिको दानभन्दा श्रेष्ठ हुन्छ ।

२. शालीनतापूर्वक सङ्कटकाललाई सहने व्यक्ति आफ्ना सङ्कटमाथि विजय प्राप्त गर्दछ । सुशीलताले कष्ट भगाउँछ, त्यसैगरी ज्ञानी व्यक्तिले अज्ञानको नाश गर्दछ ।

३. धर्मोपदेशका प्रवचन सुनेर नै धेरै भक्तजन आफ्नो जीवन सजाउँछन् । गुरुले पनि जब शिक्षा दिन्छन् उनले आफ्ना शिष्यसँग बोलेर नै विद्यादान गर्दछन् र शिष्यले सुनेर नै ज्ञान लिन्छन् ।

४. मनुष्यका लागि यो अत्यावश्यक छ कि कुनै पनि आर्थिक व्यवहारमा उसले लेखापढी गर्नुपर्दछ । यसमा उसले अलिकति पनि संकोच मान्नु हुन्न । त्यसैगरी विद्या ग्रहण गर्दा र भोजन ग्रहण गर्दा पनि कहिल्यै संकोच गर्नु हुँदैन ।

५. अत्यन्त घमण्ड गर्दा रावण मारियो । अत्यन्त दानले राजा बल बाँधिए । अतः सधैँ स्मरण रहोस् कि हर वस्तुको अति हरेक अवस्थामा खराब हुन्छ ।

६. धन र शक्तिको अहङ्कारले भरिएको व्यक्तिले आफ्नो विवेक हराउँछ । उसले आफ्नो स्वार्थलाई नै सर्वाेपरि देख्छ । उसको अवस्था त्यस अन्धाको झैँ हुन्छ, जो जन्मैले अन्धो बन्छ ।

७. जो व्यक्ति दया, दान र धर्मबाट वञ्चित भएर गलत बाटोबाट कमाएको धनमाथि अहङ्कार गर्दछ त्यो नीच हो ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ६ : ३५ बजे