काठमाडौँ –ललितपुरको कुपण्डोल कानदेवस्थान नजिकै छ नरसिंह व्यञ्जनकारको घर । ८१ वर्षका उनी १० पटकसम्म स्वतन्त्र रुपमा वडाअध्यक्ष चुनिएर चर्चामा आए । यसपटक पराजित भएपछि पनि उनी चर्चामा छन् । चुनाव चिन्ह पुतलीबाट जित्दै आएका यी ‘पुतली बाजे’ यसपटक आफ्नै भतिजासँग पराजित भएका हुन् ।
२०२९ सालमा पहिलो पटक स्वतन्त्रबाट वडाअध्यक्षको निर्वाचन जितेका व्यञ्जनकार त्यसयता कहिले निर्वाचनबाट त कहिले सर्वसम्मत भएर १० पटकसम्म वडा अध्यक्ष बने। यसपटक गठबन्धन गरेर ५ दलले आफूलाई हराएको व्यञ्जनकारको आरोप छ । आफ्नो परिवारभित्र नै फाटो ल्याउने गरी टिकट बाँडेका कारण आफूले हार ब्यहोर्नुपरेको उनी बताउँछन् ।
‘नेपालको राजनीति र बागमती उस्तै हो । अहिले बागमती जस्तै राजनीति पनि साह्रै फोहोरी भयो । जनताको सेवा गर्न राजनीति गर्नुपर्नेमा यहाँ त आफ्नो र आफन्तका लागि राजनीति गरिएको छ’ उनले क्यानडा नेपालसँग भने ।
२०५१ सालसम्म बागमतीको पानी सफा रहेको स्मरण गर्दै उनले अहिले बागमतीमा सफा पानी बग्थ्यो भन्दा पत्याउनै नसकिने अवस्था रहेको वताए ।
पुराना अनुभव सुनाउँदै व्यञ्जनकारले अहिलेको व्यवस्थाले जनतालाई बढी सास्ती दिएको तर्क प्रस्तुत गरे । उनले भने, ‘पहिला एउटा वडा अध्यक्षले हस्ताक्षर गरेकै भरमा सबै काम हुन्थ्यो । छाप नभएको अवस्थामा अछामे लेखेर पनि कति काम गरिन्थ्यो । अहिले सामान्य कामको लागि पनि जनताले धेरै समय कुर्नु पर्छ । त्यतिमात्र होइन बत्ती गयो भन्दै काम हुँदैन । एउटै फाइल बोकेर हरेकको टेबुलमा पुग्नु पर्छ । जनताले अहिले सास्ती भोग्नु परिरहेको छ ।’
राजनीतिको फोहोर सफा कहिले हुन्छ व्यञ्जनकारलाई थाहा छैन । तर, उनले वाग्मती सफा गर्ने अठोट गरेका छन् । आफू वडा अध्यक्ष हुँदा बेला पदीय मर्यादाले केही काम गर्न असम्भव भएको सुनाउँदै उनले भने, ‘ पहिले स्वतन्त्रबाट जिताए अहिले जनताले मलाई काम गर भनेर स्वतन्त्र छोडेका छन् । काम गर्न मलाई कसैले रोक्न सक्दैन।’
जनताको काम गर्न वडामा कसले जित्छ भन्ने कुराले आफूलाई फरक नपार्ने उनको भनाइ छ । आफ्नै भाइको छोरासँग हारेका व्यञ्जनकारले कुपण्डोल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरी तयारी गरिरहेको र सरकार बाहिर बसेर पनि ती योजना पूरा गर्ने बताए ।
जनताको सेवा गर्न उमेरले नछेक्ने बताउँदै उनले भने, ‘जनताको सेवा गर्न उमेरले कुनै पनि बाधा उत्पन्न गर्दैन ।’
प्रतिक्रिया