श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

हङकङमा मिडियामाथि प्रहरीको हस्तक्षेप, संवेदनशील पोस्ट हटाउन निर्देशन



काठमाडौँ– हङकङको राष्ट्रिय सुरक्षा प्रहरीले अनलाइन मिडियाका संस्थापकलाई राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने किसिमको अनलाइन पोस्ट हटाउन निर्देशन दिएको छ।

साउथ चइना मर्निङ पोस्टका अनुसार हङकङको प्यासन टाइम्सका संस्थापक वोङ येउङ–टाटलाई अनलाइन पोस्टहरु हटाउन निर्देशन दिइएको हो।

समाचारमा उल्लेख गरिएअनुसार उनलाई बुधबार बिहान उक्त पोस्टहरु हटाउन निर्देशन दिइएको हो।

प्रहरीले यस किसिमका पोस्टमा संवेदनशील विषयवस्तु मात्र नभएर यसले राष्ट्रिय सुरक्षालाई नै जोखिममा पार्न सक्ने बताएको छ।

स्रोतका अनुसार प्रहरीले वोङलाई उनकै घरमा पुगेर पोस्टहरु हटाउन निश्चित म्यादसहितको पत्र बुझाएको हो।

यद्यपि यो क्रममा कसैलाई पनि अहिलेसम्म पक्राउ भने गरिएको छैन। यस विषयमा अहिले अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ।

४२ वर्षीय वोङले फेसबुकमार्फत राष्ट्रिय सुरक्षा प्रहरी आफ्नो घरमा आएको र आफूलाई संवेदनशील पोस्ट हटाउन निर्देशन दिएको पुष्टि गरेका छन्।

उनले पछिल्लो समय मिडियामा काम गर्न र हङकङमा बसोवास गर्न दिनानुदिन कठिन हुँदै गएको बताएका छन्।

प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार  ९ : ४६ बजे