असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

बालेन, ब्यालेट र बहस

बालेनको लौरोले ट्वाक्क, ट्वाक्क, ट्वाक्क…



 काठमाडौँ– अहिले दिनमा कम्तिमा आठ दश जनालाई त जवाफ दिनैपर्छ । घरमा बुबाआमादेखि छोराछोरीसम्म अनि च्याट र फोनमा साथी सङ्गतीका प्रश्नहरूको अन्तर्य साझा हुन्छ– बालेनले जित्लान् ?

जवाफ ‘जित्नेजस्तै देखिन्छ’ भन्ने आयो भने उनीहरु उत्साही सुनिन्छन् । ‘यसै भन्न सकिन्न’ भन्यो भने दुःखी जस्ता देखिन्छन् ।  

ब्याडमिन्टन खेल्न बिहानै भेला भएका छिमेकीहरू पनि पसिना पुछ्दै यही विषयमा गफिँदै गरेका भेटिन्छन्, ‘अब बालेनले जित्यो’ एकजनाको ठोकुवामा अर्को जनाले प्रतिप्रश्न गरे २५ प्रतिशत त मत गनिसकेको छैन, अझै कोर एरिया बाँकी नै छ, कहाँ अहिल्यै भन्न सकिन्छ र ? जितिहालिन्छ भन्ने छिमेकीको तर्क– अहिलेसम्म बालेन एकैपटक पनि गणनामा पछि परेका छैनन् बरु मतान्तर निरन्तर बढाइरहेका छन् । एमालेले नै जितेका वडामा पनि मेयरमा स्थापितलाई भन्दा बढी मत बालेनलाई आएको छ । 

बालेनले लगातार अग्रता लिइएपछि यसअघि बालेनबारे खास चासो नदिएका एकजना व्यवसायी साथीले बालेनका पाँचवटा अन्तर्वार्ता हेरेको सुनाए । बेलुका भेट्दा उनको निष्कर्ष थियो– ‘हैन, बालेन त खतरै मान्छे रहेछ नि । मैले त उसलाई एउटा सामान्य र्यापर र लहैलहैमा उम्मेदवारी दिएको केटो मात्र सोचेको थिएँ । उसका अन्तरवार्ताभरि हेरे पछि त म फ्यानै भएँ । यत्तिको भिजनरी मान्छेले जित्यो भने काठमाडौँ पक्कै राम्रो बनाउँछ ।’
‘के गर्ने बुढा नेताहरूको भिजननै अन्तिमतिर उनले भने ।

अहिले धेरैले देखि भोगिरहेको एउटा परिदृष्य यस्तै छ । बालेनले जित्ला ? भन्ने प्रश्न वा संसय वा टिप्पणीसँगै अर्को बहस पनि चलेको देखिन्छ । अहिलेको मत बालेनको ‘भिजन’ र योजनामा भर गरेर  मत आइरहेको हो वा राजनीतिक दलहरूप्रतिको वितृष्णाको मत ब्यालेटमा जौहर भइरहेको हो ? धेरैजसो चाहिँ ब्यालेटमा व्यक्त भइरहेको अभिमत राजनीतिक दल र नेताको उस्तै पाराले वाक्क दिक्क प्याक्क बनाएपछि नागरिकको बाध्यता रहेको ठान्छन् ।

बालेनको चुनावी क्याम्पेनमा लागेकाहरू नै पनि यो तर्क अस्वीकार गर्दैनन् । चुनाव अघि जेजस्तो नै भएपनि दलीय उम्मेदवारलाई नै साथ दिनुपर्छ अनि मात्र लोकतन्त्र बलियो हुन्छ भन्ने दाबी गर्नेहरुले पनि अहिले निकालेको निष्कर्ष लगभग यस्तै छ– ‘दलहरुको मनमौजीले गर्दा मतदाताले फरक ढंगले सोच्न बाध्य भएका हुन् ।’

संगै, ठूला दल र नेताहरूसँग रिसाएका मतदाताले बैकल्पिक राजनीति गर्ने दाबी गर्दै आएका दलका उम्मेदवारलाई पनि छोडेर राजनीतिको कुनै पृष्ठभूमि नै नभएका बालेनप्रति आकर्षित भएका छन् । यसको सबैभन्दा मिहिन र निर्मम विश्लेषण त राजनीतिक दलहरूले गर्लान् नै ।

बालेनकै शब्दमा ‘बुढाबुढीलाई टेकाउन र भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ लौरोले अहिले धेरैलाई ट्वाक ट्वाक हिर्काइरहेको छ । सबैभन्दा धेरै त दलका नेताहरु, उनीहरुँको ढाँट्ने बानी र ‘कला’लाई, उम्मेदवार चयनमा हेक्का नपुर्याउने तरिकालाई, विपक्षीलाई कम आँक्ने र अपमान गर्ने चरित्रलाई, जति मेन्यु हेरेपनि अन्तिममा नेपालीले खाजामा मम नै मगाउँछन् भन्ने मान्यतालाई, बदलिँदो पुस्ता र उसको सोचाईलाई, चुनावी रणनीति बनाउने पुरातन तरिका सबलाई ट्वाक ट्वाक लौरोले हिर्काइरहेको छ । 

बालेनले जितका लागि आवश्यक मत ल्याउलान्, नल्याउलान् वा दलका नेता र उम्मेदवारले बोर लागुन्ज्याली भनिरहेको ‘कोर’ क्षेत्रको भोट कस्तो आउला ? तर बालेनको लौरोले तोरिका फुल देख्नेगरि ठोक्न चाहिँ ठोकिसकेको छ ।
काठमाडौँको मेयरमा अघिल्लोपटक विवेकशिल पार्टीकी उम्मेदवार रञ्जु दर्शना र साझा पार्टीका उम्मेदवार किशोर थापाले ल्याएको मतलाई नजरअन्दाज गर्दै राजनीतिक दलले उम्मेदवार चयन गरे । उनीहरुले हामीले उठाएका उम्मेदवारलाई मत हाल्नुबाहेक मतदातासँग कुन विकल्प बाँकी छ र ? भन्ने मान्यताभन्दा माथि उठ्न सकेनन् । 

अर्कातिर काठमाडौँको मतलाई जातीय, दलीय, कोर, गढ, जस्ता उपमाको पर्दाभित्रबाट बाहिर निकाल्नै आवश्यक ठानेको देखिएन । उनीहरू मुख्य गरि समुदाय, राजनीतिक विरासत भएको घराना, जस्ता कुरामा नै अल्झिएको देखिन्छ । उम्मेदवार छान्दै गर्दा उनीहरुले अघिल्लो चुनाबमा विवेकशिल र साझा पार्टीले ल्याएको मतलाई मात्र सम्झेको देखिएन ।

त्यसैले बालेनको लौरोले सबैभन्दा बढी दुख्ने गरि राजनीतिक दलहरू र तिनका नेताहरूलाई नै हानिरहेको छ ।

राजनीतिमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको जति चर्चा भइरहेपनि हजुरबा पुस्ताबाटै शासित हुनुपरिरहेको यथार्थका बीच लौरोको प्रहारले रन्थनिएका राजनीतिक दल र तिनको नेतृत्व जति छिटो बौरिनेछ, राजनीतिक रुपमा त्यसको लाभ उनिहरुले नै पाउनेछन् । 

प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार  ६ : २५ बजे