जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘पेट पाल्नु कि नेतालाई भोट हाल्नु बाबु ?’



काठमाडौँ– सबै नागरिकको रहर हुन्छ पाँच वर्षमा आउने स्थानीय तहको निर्वाचनमा मतदान गर्ने । मतदान गर्ने रहर नभएको पनि होइन, तर बाध्यता गर्न यस पटक निर्वाचनमा सहभागी हुन सकिनँ ।

आज दिनभर अन्य दिनको भन्दा बढी व्यवस्ता रह्यो । एकातिर स्थानीय चुनावको रन्को अनि अर्कोपटि चर्को घामको तापसँग जुड्नु पर्‍यो । बिहानैबाट चुनावको रिपोर्टिगं गर्दै हिँडेको मैले आफ्नो नंग रंगाउन त पाइन तर  अनि केहि थान मेरा भावनाहरु आज उतार्ने जमर्को गर्दैछु । भोट हाल्न नपाउनु एउटा मर्म हो तर मर्म जस्तो भए  पनि कर्म नै ठूलो हुने रहेछ यो संसारमा । 

चुनाव र दशैं एउटा औसत नेपाली गाँउका लागि उस्तै उस्तै हो, सबैजना गाँउमा भेला हुन्छन्, दुःख सुखका कुरा अनि गाउँले भलाकुसारी, चिया पसलमा गफ, भोट माग्नेको लर्को एउटा बिछटै रमाइलो माहौल रहन्छ । भोट हाल्न नगएर मैले यो माहौल र आफ्नो चाहना बमोजिमको उम्मेदवार छान्ने अवसर पनि गुमाएको छु ।

मेरो एक भोट खेर गयो भनौँ वा प्रयोग भएन, अझ भनौँ प्रयोग गर्न नै पाइन्ँ। यतिबेला म सोच्दै, कसैले मेरो नामको भोट त लागेको छैन् । स्थानीय चुनावमा अर्कोको नामको मतदान अर्कैले हाल्ने नौलो कुरा होइन् ।  एउटा परिवर्तनको एकसरो आवाजका रुपमा मेरो भोट यसपाला त्यतिकै थन्कियो । 

गाडी विभिन्न मतदान केन्द्रहरुमा दौडिरहेको छ । समाचार ब्रेकिङ गर्ने हतार जस्तै ममा पनि रफ्तार बढेको छ । शहर अरु दिन जस्तो चलायमान छैन, सुनसान छ । यस्तो अनुभव पछिल्लो समय लकडाउन पछि पहिलो चोटी अनुभव गरिरहेको छ । भिडभाड त केबल मतदान केन्द्र वरपर मात्र छ । सडक शुन्य भए जस्तै मतदान गर्न नपाउँदा मनमा कताकता शुन्यता छाएको छ । 

झ्याल बाहिर अर्कै नजारा छ । पुतली सडकबाट चारखाल जाँदै गर्दा पिपलबोट छेउमा मकै पोल्दै गर्नु भएकी आमालाई देखे, चुनावले भोक टार्दैन, आमाको भोक र आवश्यक्तालाई मकैको घोघा, हिजोको पानीले चिस्याएको दाउराको धुँवा र घरबाट पिसेर ल्याएको नुनको संयोगले मात्र सम्वोधन गर्न सक्नेछ । 

म पनि भोकै थिँए, आमाको चिसो दाउराको धुँवा छेउमा गएर अडिए । मकै माँगे ।  भोकले गर्दा केही मिनेट बोलिन् । दुइ–चार मुठ्ठी मकै खाएपछि बल्ल मलाई साहस आएछ । अनि आमालाई सोधे, आमा चुनावमा भोट हाल्न जानु भएन ?
अहँ गइन बाबु, यति भनेर आमा आफ्नै काममा व्यस्त हुनुभयाे । हिजोको पानीले भिजेर होला, चिसो दाउरामा मुखले फुक्दै हुनुहुन्थ्यो । । आँखामा धुवाँ परेर आँशुका टाटाहरु आमाको अनुहारमाथि प्रष्ट देखिन्थ्यो ।
आमाले अलिक दाउरा बलेपछि निरासाको भावनामा खै बाबु चुनाव भनेको त पार्टीहरुलाई होला नि , मलाई त भोलीको चिन्ता लाग्छ, दुइ दिन काम गरेन भने तेस्रो दिन चुल्होमा बाल्ने र हाल्ने केहि हुँदैन । अरु कुरा चल्दै गर्छ, हामीलाई त कर्म नै प्यारो । आमा बोरावाट अरु मकै झिकेर खोस्टा छोडाउन थाल्नु भयो । 

यी आमालाई बृद्धभत्ताको दायराले भन्दा मकै पोल्ने दाउराले चाँही नजिक पारेको छ । यस उमेरमा सन्तान या राज्यले हेरिदिनुपर्ने आमा आज पनि आफ्नै हाड घोटेर जीवन चलाँउदैछिन् । अनि त्यही मकै पोलेको गल्ली छेउमा हजारौं मान्छेहरु झण्डा बोकेर नयाँ र समृद्ध नेपालको सपना बेच्दै हिँडेका छन् । तर आमा चाँही जहाँको त्यहि । 

मैले अर्को मकै पनि पोल्न भने । एकछिन पछि मकैको हरियो खोस्टामा बेरेर तातो मकै राखेर आमाले मलाई दिनु भयाे । बोराभरि मकै छन्, आज चुनाव गणना शुरु हुन थाल्दासम्म आमा मकै गनेर बस्नु हुनेछ । मैले ५० रुपैंया दिएर बिदा मागे । 

ती आमाले अरुझैं मकै पोलेकी थिइनन, खोस्टासहितको मकैलाई पिल्स्याएर पोल्दा अझ मिठो हुन्छ । ठ्याक्कै मेरो गाँउकै जस्तो । गाउँमा यसपाला चुनाव र मकै दुबै छिप्पीएको छ, गाउँ सम्झेर मेरो अनुहार शायद कालो भएको छ । चुनावमा गाउँ जान नपाए पनि मकैको स्वादले मलाई गाउँ नै पुगे जस्तो भयो । 

 

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  १० : २९ बजे