काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डे रिहा भएका छन् । ८७ दिनदेखि अबुधावीस्थित केन्द्रीय कारागार रहेका उनी आज (शुक्रबार) रिहा भएको नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।
युएईस्थित नेपाली दूतावासबारे फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), आरएसएफ, युएई पत्रकार संघ, आइएफजे मिडिलिष्टलगायतले पाण्डेको रिहाइका लागि सहयोग गरेको महासंघका महासचिव पुरीले बताए ।
महासंघले युएई प्रहरीमा दूतावासले गरेको उजुरी, पाण्डेका विषयमा अदालतको फैसला, अदालतलाई नेपाली दूतावासको तर्फबाट लेखिएको पत्रलगायतका महत्वपूर्ण कागजात प्राप्त गरेपछि नेपाल सरकारलाई दबाब परेको थियो ।
कागजात महासंघलाई उपलब्ध गराउने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाप्रति महासंघले धन्यवाद ज्ञापन गरेको छ । साथै उक्त घटनामा संलग्न दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीलाई तत्काल कारबाही हुनु पर्नेसमेत महासंघले माग गरेको छ ।
रिहा भएपछि फोन गरेर पाण्डेले महासंघलगायत आफ्नो रिहाइका लागि पहल गर्ने सबै व्यक्ति, संघसंस्थालाई धन्यवाद दिएको महासचिव पुरीले जानकारी दिए ।
प्रतिक्रिया