काठमाडौँ– स्थानीय चुनाव संघारमै आइपुग्दा दलका शीर्ष नेताहरू आफ्ना बढीभन्दा बढी उम्मेदवार जिताउन कम्मर कसेर लागेका छन् । चुनावी सभा सम्मेलनमा भाग लिनेदेखि आन्तरिक रणनीति बनाउने, प्रचार प्रसारलाई तीब्र बनाउने र अर्को पार्टीभन्दा अब्बल रहेको दाबी गर्ने काममा उनीहरूलाई भ्याइ नभ्याइ देखिन्छ ।
आफ्नो दललाई धेरै ठाउँमा जिताउन लागिपरेका शीर्ष नेताहरूलाई आफ्नै गृह जिल्ला र पालिकामा जिताउने चुनौती पनि कम्ता ठूलो देखिँदैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली लामो समयदेखि भक्तपुरको बालकोटमा बस्दै आएपनि उनी संसदीय निर्वाचनमा झापा ५ बाट प्रतिस्पर्धा गर्दै आएका छन् । उनको ‘गृह नगर’ दमक हो । तुलनात्मक रुपमा एमालेको बलियो पकड रहेको दमकमा यसपटक जित कायमै राख्न पहिलेजस्तो सहज भने छैन । एमालेले अहिलेका उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेदवार बनाएको छ । जहाँ, एमालेविरुद्ध चार दलले गठबन्धन गरेका छन् । राप्रपाको बलियो संगठन रहेको दमकको मेयरमा राप्रपाका राम थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका छन् । जसका कारण प्रतिस्पर्धा निकै चर्को देखिएको छ ।
अघिल्लो पटक दमकमा रोमनाथ ओली १० हजार ८ सय ६ मतसहित मेयरमा निर्वाचित भएका थिए । २०७४ मा दलहरूले पाएको मतलाई आधार मान्दा अहिले गठबन्धन गरेका दलहरूले जम्मा २० हजार ९२ र एमालेले १० हजार ८ सय ६ मत पाएका छन् ।
ओलीको निर्वाचन क्षेत्रमा दमकका साथै गौरादह, गौरीगञ्ज र कमल गाउँपालिका पालिका पनि पर्छन् । यिमध्ये कमल गाउँपालिकामा मात्र एमालेले (गोला तानेर) जितेको थियो। बाँकी हारेका पालिकामा जिताउनु र कमलको जित कायमै राख्न एमालेलाई निकै कठिन देखिन्छ । यी पालिकामा सत्तारुढ गठबन्धनको तालमेल छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौँको बुढानिलकण्ठमा बस्दै आएपनि उनी चुनाब लड्ने जिल्ला डडेल्धुरा हो । यसपटक देउवालाई गृह जिल्लामा अहिले कारबाही गरिएका कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल र उनको समुह मुख्य चुनौती बनेर उभिएको छ । मल्लले स्थानीय निर्वाचनमा नेपाली कांग्रेस बिपीका नाममा नेकपा एमालेसँग गठबन्धन गरेका छन् । जिल्लामा बलियो सांगठनिक पकड बनाएका मानिने मल्ललाई एमालेसँग मिलेपछि कांग्रेसले कारबाही गरेपनि उनको समुह र एमालेको गठबन्धनले कांग्रेसलाई तनाव थपिएको छ ।
मल्लले एमालेसँग गठबन्धन गरि नेपाली कांग्रेस (बीपी) को नाममा तीन पालिकाको प्रमुखमा आफ्नो पक्षका उम्मेदवार उठाएका छन् ।सकस बढ्दै जाँदा मतदातालाई आश्वस्त पार्न देउवा आफैँ डडेल्धुरा पुगेका छन् । पूर्वसभापति मल्लले एमालेसँग गरेको तालमेल, सत्तारूढ दलहरूबीच गठबन्धन हुन नसक्नु, कांग्रेसभित्रै असन्तुष्टि बढ्नु जस्ता कारणले देउवालाई गृहजिल्लामा कांग्रेस उम्मेदवार जोगाउन कठीन परेको विश्लेषणहरु भइरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहनगर भरतपुरमा उनकै छोरी समेत रहेकी रेनु दाहाल उम्मेदवार छन् । अघिल्लो पटक बढो मुश्किलले चुनाब जितेकी रेनुलाई यसपटक दोहारिन सकस छ । नेपाली कांग्रेसको सहयोगमा मात्र माओवादीको जित सम्भव हुने ठानिएको भतरपुरमा कांग्रेसका नेता जगन्नाथ पौडेल स्वतन्त्र उम्मेदवार बनेका छन् । उसो त भुईँकटहर चुनाब चिन्हमा उठेका पौडेलले माओवादीसँगको गठबन्धनको विरोधमा एमालेतिर जानसक्ने भोट रोक्ने र यसले रेणुलाई नै फाइदा पुग्ने आँकलन गर्नेहरु पनि नभएका भने होइनन् । तर मूख्यगरि उनले कांग्रेसकै मतलाई रोक्ने भएकाले रेनुलाई जाने मत पनि राेकिने छ नै ।
यो निर्वाचनमा रेनुको जित हारले प्रचण्डलाई एक पिताका रुपमा मात्र होइन पार्टी अध्यक्ष र संसदीय चुनाबमा आफ्ना उम्मेदवारीलाई समेत केही सन्देशहरु दिने भएकाले उनका लागि भरतपुर अत्याधिक महत्वपूर्ण बन्न पुगेको छ । तर जित हारको संसयले प्रचण्डलााई कति तनाव दिएको छ भन्ने कुरा केही दिन अघि भरतपुरमा पुगेर उनले दिएको आक्रोशित अभिब्यक्तीले पनि दर्शाउँछ । जहाँ उनले ‘गठबन्धनकी उम्मेदवार रेणुलाई मत दिए गठबन्धन लामो समयसम्म चल्ने र नदिए देश दुर्घटनामा जान सक्ने’ चेतावनी दिएका थिए ।
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका लागि आफ्नो अस्तित्व र औचित्यसँग जोडिएको छ यो निर्वाचन । आफ्ना हरेकजसो भाषणमा एमाले र उसका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आफ्नो पार्टीले राम्रो परिणाम ल्याउने दाबी गर्दै आएका नेपाललाई पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बनेका धनराज आचार्यलाई जिताउनु सबैभन्दा ठूलो चुनौती छ ।
काठमाडौँ महानगरसहित केही ठाउँमा कतै उपमेयररउपाध्यक्ष त कतै वडा अध्यक्ष लिएर चुनावमा होमिएको नेकपा एसलाई उम्मेदवार जिताउने चुनौती निकै कडा छ । आफ्नै मत धेरै नभएको ठाउँमा गठबन्धनका अन्य दलबाट त्योभन्दा धेरै मत पाएर चुनाब जित्न निकै कठिन हुने कुरा नेपाल लगायत एसका उम्मेदवारले बुझेकै हुनुपर्छ ।
जसपाका राष्ट्रिय परिषदका अध्यक्ष बाबुराम भट्टराईलाई पनि गोरखामा पार्टीका उम्मेदवारलाई जिताउन सकस छ । अझ उनकै गृह नगर पालुङ्टारमा नै जसपालाई जिताउन बाबुरामलाई हम्मेहम्मे देखिएको छ । जिल्लाका सबै पालिकामा कांग्रेससँग सहकार्य गर्ने तयारी गरिएपनि अन्तिममा गोरखा नगरपालिका लगायतमा माओवादी र जसपा मिलेपछि कांग्रेससँगको तालमेल टुटेको थियो । जसका कारण पालुङटारमा जसपा माओवादी काङ्ग्रेस एमाले एक्लाएक्लै चुनाब लडिरहेका छन् । अघिल्लोपटक चर्को प्रतिस्पर्धाका बीच मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी भएको यो नगरपालिकामा यसपटक जसपालाई जिताउन बाबुरामलाई गाह्रो देखिएको हो ।
अध्यक्ष उपेन्द्र यादवलाई विराटनगरको उपमेयरमा उठेका छोरा दिनेश यादवलाई जिताउनुपर्ने तनाव छ । कांग्रेससँग तालमेल भएपनि फोरमका अर्का नेता उमेश यादवले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने उपमेयरमा पनि नेपाली कांग्रेसकी नेतृ उम्मेदवार छन् । जसले गर्दा यो गठबन्धनले कसरी र कति काम गर्ला भन्ने संसय देखिएको छ ।
बिराटनगर महानगरपालिका यादवका लागि मात्र होइन कांग्रेस नेता शेखर कोइरालाका लागि पनि आफ्ना उम्मेदवारलाई जिताउनै पर्ने बाध्यताको क्षेत्र हो । यसैकारण उनी यो चुनाबमा बिराटनगरमै सक्रिय भएर लागेका छन् । आफु निकट र परिवारभित्रकै मानिने नागेश कोइरालालाई टिकट दिलाएका भनिएका शेखरले उनलाई जिताउनुपर्ने बाध्यता छ ।
बिराटनगरमा अघिल्लो निर्वाचनमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मतसहित जित हात पारेका थिए भने एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए। अहिले उनै उमेश स्वतन्त्र उम्मेदवार बनेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह नगर झापाको कचनकवलमा जितलाई निरन्तरता दिन कठिन देखिएको छ । कचनकवलमा कांग्रेस–एमालेले गठबधन्धन गरेका छन् भने राप्रपा एक्लै प्रतिस्पर्धामा छ। जहाँ गठबन्धनबाट अध्यक्षमा कांग्रेसका कलेन्द्रप्रसाद राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार छन्। राप्रपाबाट निवर्तमान गाउँपालिका अध्यक्ष अन्जार आलम नै अध्यक्षको उम्मेदवार छन् । २०७४ सालको निर्वाचनलाई आधार मान्दा कांग्रेस एमालेसँग राप्रपाभन्दा झन्डै ४ हजार बढी मत देखिन्छ ।
तनहुँको ब्यास नगरपालिकामा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेललाई कांग्रेस उम्मेदवार जिताउन उस्तै मुश्किल देखिन्छ । कांग्रेसका पूराना तर अहिले कारबाहीमा परेका नेता गाेबिन्दराज जाेशीले एमालेसँग तालमेल गरि छोरालाई उम्मेदवार बनाएका छन् । जाेशीको राम्रै पकड रहेको ठानिने ब्यासमा एमालेसँगको तालमेलले जाेशी हाैसिएका छन् ।
यसरी यसपटकको स्थानीय चुनाबमा दलका धेरै शीर्ष नेताहरू आफ्नो गृह नगर र जिल्लामा आफ्नो पार्टीलाई कसरी जिताउने भन्ने सकसमा देखिन्छन् ।
प्रतिक्रिया