-मोहित जोशी
मुर्ति बरफको बनाउनुपर्छ
मुर्तिहरूलाई पनि हेक्का रहोस् –
आफु कति सजिलैसँग पग्लिन सक्छु भनेर
बरफ –
पगाल्न पनि सजिलो फुटाउन पनि सजिलो
नयाँ तथ्यको उपस्थितिमा
सत्यको स्वरूप पग्लिन्छ
मुर्ति बनेर पुजिरहेका
परम्पराहरू पग्लिन्छन्
भगवानहरू पनि त पग्लिनु पर्छ
नयाँ भाँडोमा
नयाँ आकारमा जम्नुपर्छ !
इतिहास एउटा मुर्ति
सत्य एउटा मुर्ति
परम्परा एउटा मुर्ति
आक्रोश एउटा मुर्ति
भगवान एउटा मुर्ति
धर्म एउटा मुर्ति
प्रेम एउटा मुर्ति
मन पनि त एउटा मुर्ति
सबै मुर्तिहरू
कुनै दिन पग्लिनु
आवश्यकता हो ।
मन त बरफकै भए असल हुन्छ…
प्रतिक्रिया