असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

भरतपुरमा कांग्रेसका बागी उम्मेदवारले गठबन्धनलाई फरक पर्दैन– प्रचण्ड (भिडिओ)

संविधान र निर्वाचन प्रणालीका कारण गठबन्धन आवश्यक भयो



काठमाडाैँ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेका छन् । माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने उनको भनाइ छ ।

गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भएपनि गठबन्धनलाई बचाउन माओवादी केन्द्रले नै मूख्य भूमिका निर्वाह गरेको भन्दै प्रचण्डले अहिले पनि माओवादी केन्द्रले नै राजनीतिक एजेण्डामा, गठबन्धनमा र यी सबै प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरे ।

अहिलेको निर्वाचन विगतको भन्दा फरक भएको र अहिले प्रतिगमनलाई परास्त गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन भएकाले परिवर्तनका पक्षधरलाई नै मत दिएर जिताउन पनि उनले आग्रह गरे । अध्यक्ष प्रचण्डसँग प्रेस सेन्टर नेपालले गरेको क’राकानीको सम्पादित अंश–

स्थानीय तहको निर्वाचन आउन १० दिन मात्रै बाँकी छ । निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना कस्तो छ ?
हामीले जहाँ जहाँ सहमति गरेका छौं, त्यहाँ जित सुनिश्चित देख्छु । जस्तो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा, जहाँ गठबन्धनमा समझदारी बनेको छ, त्यहाँ गठबन्धनको विजय सुनिश्चित देखिन्छ । अर्को, हामीले गठबन्धनमा छलफल गर्दा हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो ।

यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन । गठबन्धनको केन्द्र वा संयन्त्रमा छलफल गर्दा जहाँ कुरो मिलेको छैन, त्यहाँ प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धा गर्दा यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरताका बीचमा नै प्रतिस्पर्धा गर्ने र जित सुनिश्चित गर्ने भनिएकोले गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको छ । आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्छ र गठबन्धन विजयी हुन्छ ।

माओवादीले जसको नीति उसको नेतृत्व त भन्यो तर निर्वाचनमा गठबन्धन बन्दै गर्दा र उम्मेदवार मनोनयन गर्दै गर्दा नेतृत्व त छोडियो भन्ने आलोचना छ, यो नारा कसरी कार्यान्वयन हुन्छ ?
यो विषय अलि गम्भीर र संवेदनशील छ । पहिलो कुरा, नेतृत्व भनेको के ? नेतृत्व भनेको विचारको नेतृत्व, राजनीतिक मुद्धाको नेतृत्व, देशको राजनीतिलाई एउटा नयाँ मोड दिने, गति दिने नेतृत्व त्यसरी भनियो भने माओवादीले नेतृत्व कसैलाई पनि छोडेको छैन । माओवादीले नै नेतृत्व गरिराखेको छ ।

तपाई हेर्नुभयो भने यो गठबन्धन निर्माण कुन परिस्थितिमा भयो ? प्रतिगमनको खतरा कहाँसम्म पुगिसकेको थियो र देश दुर्घटनामा जानै लागेको बेलामा कसको पहल र नेतृत्वमा यसको रक्षा भयो भनेर तपाईले हेर्नुभयो भने चाहे सडक आन्दोलनमा हेर्नुस्, चाहे गठबन्धन निर्माण प्रक्रियामै हेर्नुस् माओवादी केन्द्रले नै नेतृत्व गरेको छ । अहिले निर्वाचनको यो समग्र प्रक्रियामा पनि हामीले नेतृत्व नै गरिराखेका छौं भन्ने मलाई लाग्छ । मानिसहरु जसले यसको गहिराईमा गएर चीजलाई बुझेका छैनन् या बुझ्न चाहेका छैनन्, उनीहरुले लगाउने आरोप या प्रश्न त एउटा कुरा हो । तर, मेरो ठाउँबाट मैले हेर्दा यो समग्र प्रक्रियामा माओवादीले नै नेतृत्व गरिराखेको छ ।

तपाईंले संख्या इत्यादिको कुरा गर्नुभयो भने त्यो तथ्याङ्क हिजो ०७४ को चुनावलाई पनि ध्यान दिने, अरु पनि ध्यान दिने धेरै धेरै कारणले काम गरेका छन् । हामीले नै प्रस्ताव गरेर तपाईं प्रधानमन्त्री हुनुप¥यो भनेर नेपाली कांग्रेसका सभापति शेरबहाद’र देउवालाई भन्यौं । संख्यामा पनि हामीले भनेका छौं । त्यसकारण यो समग्र प्रक्रियाको नेतृत्व माओवादीले नै गरिराखेको छ । माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ ।

गठबन्धनलाई शुरुदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको र यी सबै प्रक्रियाको नेतृत्वदायी भूमिका खेलिरहेको छ ।

माओवादीले अघिल्लो निर्वाचनमा ७५३ मध्ये १०६ स्थानीय तहमा प्रमुख जितेको थियो, यसपटक माओवादीले त्यसभन्दा बढी जित्ला त ?
मैले सबै प्रदेशका जिम्मेवार साथीहरु, जिल्लाका प्रतिनिधिहरुसँग कुरा गर्दा सबैको भनाई के छ भने हामी पहिलाको भन्दा दोब्बर बनाउँछौं । सबै प्रदेशले भनेको र टिपेर पनि दिनुभएको छ, हिजो बेलुका मैले सबै हेरें, पहिलाको जति छ, त्योभन्दा डबल हुन्छ । अब पालिकाको मोटामोटी रिपोर्ट हेर्दा पनि पहिलाको भन्दा हाम्रो गुणात्मक ढंगले बढ्छ भन्ने देखिन्छ । त्यो कुरा पक्का हो ।

माओवादी कहिले एमालेसँग मिलेर वाम एकता त कहिले कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन भन्छ । माओवादी एक्लै आफ्नो अस्तित्व निर्माण गर्न नसक्ने अवस्थामा पुगेको हो ?
त्यस्तो होइन । त्यसो भन्यो भने त कसैले पनि नसक्ने भयो । हिजो कांग्रेस हामीसँग किन मिल्यो ? एमाले हामीसँग फेरि किन मिल्न परेको हो ? आखिरमा त कोही पनि एक्लै लड्न सकेनन् नि । अहिले हाम्रो गठबन्धन छ । एमाले शुरु शुरुमा हामी त एक्लै लड्छौं भन्थ्यो तर उसले ८/९ वटा पार्टी/समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । काँग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको होइन । बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न प¥यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो ।

अर्को कुरा, गठबन्धन फेरि कुन विचारको आधारमा, कुन राजनीतिक एजेण्डाको आधारमा भन्ने हो । अहिले मैले हेर्दा जो शान्ति सम्झौताका पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन् । हिजो १२ बुँदे समझदारीदेखिका यात्रीहरु बीचको गठबन्धन वैज्ञानिक, स्वभाविक र गतिशील गठबन्धन हो । त्यसको विरुद्ध जाने गठबन्धन प्रतिगमनतिर जाने गठबन्धन हो । त्यसकारण यहाँ माओवादी मात्रै एक्लै आँट नगरेको भन्ने होइन । एक्लै त कसैले आँट गर्ने स्थिति छैन अहिले देशको ।

हामीले भनेका छौं यदि निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुने हो भने यो स्थिति हुँदैन । सबै आ–आफ्नो शक्ति अनुसार लड्ने अनि त्यसपछि जति मत पाइन्छ, त्यहीँ मतभार अनुसार भागबण्डा हुन्थ्यो । अहिले त्यस्तो छैन । हाम्रो संविधान र निर्वाचन प्रणालीले नै पार्टीहरुलाई गठबन्धनमा जाने र गठबन्धनको आधारमा विचार र मुद्धा स्थापित गर्न प्रेरित ग¥या छ । यसकारण यो सवाल माओवादी केन्द्रसँग मात्र होइन, सबै देशका राजनीतिक दलसँग हो ।

यो स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई थप सुदृढ गर्ला ?
मलाई यो निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्छ भन्ने लागेको छ । यो निर्वाचनबाट पहिले भन्दा गुणात्मक रुपले प्रगतिमा हामी हुनेछौं भन्ने विश्वास छ ।

माओवादीका इमान्दार नेता कार्यकर्ताले निर्वाचनमा अवसर नपाएको भनेर कतिपय स्थानमा बागी उमेदवारी पनि हालेको देखिन्छ । यसले निर्वाचनको परिणाममा कस्तो असर पु¥याउला ?
पहिलो कुरा, माओवादी केन्द्रबाट सबैभन्दा कम बागी उम्मेदवार उठेका छन् । एकाध ठाउँमा त्यस्तो देखियो । यदाकदा कुनै ठाउँमा उठेका छन्, जति उठेका थिए अधिकांशले त पार्टीले भनेपछि उमेदवारी फिर्ता पनि गरिसक्नुभएको छ । जति बाँकी हुनुहुन्छ ती साथीहरु पनि पार्टीको नीतिभन्दा बाहिर जाने देखिँदैन ।

त्यसमा पनि पार्टीले फेरि आग्रह गरेको छ, नभए विधानबमोजिम कार्वाही गर्छ ।अर्को कुरा सिस्टम भित्र छिरेपछि अलि अलि त्यसको विकृतिको रङ लाग्ने त हुुँदो रहेछ । यन्त्रभित्र छिरेपछि त्यही अनुसार हुने, त्यस्तो हुने त देखियो । तर माओवादी केन्द्र नै अहिलेसम्म त्यस्तो पार्टी हो जो सबैभन्दा बढी अनुशासित छ । सबैभन्दा बढी पार्टीको नीति, विचार, योजना र कार्यक्रमप्रति प्रतिवद्ध छ ।

माओवादी केन्द्रले केन्द्रीय स्तरबाट घोषणापत्र जारी नगरी स्थानीय चुनावमा गयो भनेर केही आलोचना र टिप्पणीहरु भएका छन्, किन त्यसो गर्नुभयो, के भन्नुहुन्छ ?
घोषणापत्र भने पनि, प्रतिवद्धता पत्र भने पनि अपील भने पनि पहिलो पटक प्रकाशित गर्ने पार्टी माओवादी केन्द्र नै हो । हामीले के ग¥यौं भने केन्द्रीय समितिबाट चुनावी घोषणापत्र पालिका स्तरमा बनाउने र केन्द्रबाट अपिल प्रकाशित गर्ने निर्णय ग¥यौं । केन्द्रबाट जारी अपिल नै स्थानीय तवरमा घोषणापत्र बनाउनको लागि निर्देशिका हुन्छ भनियो । त्यही अपिल अनुसार नै घोषणापत्र बन्छन् भनेर भनेको हो । सबैले बनाएका पनि छन् र बनाउँदै गएका पनि छन् । त्यसकारण जनताको नाममा केन्द्रीय स्तरबाट अपिल गर्ने, प्रतिवद्धता व्यक्त गर्ने पार्टी माओवादी केन्द्र नै हो यसमा कुनै द्धिविधा हुनुपर्ने वा भ्रमित हुनुपर्ने कुनै कारण छैन ।

घोषणापत्र बनाउन कुन ठूलो कुरा थियो र हामीलाई । अरु पार्टीहरु घोषणापत्र बनाउने जनतालाई झुक्याउन अनेक हावा कुरा लेख्ने गरेका छन् । हामी त्यसो गर्न चाहँदैनौं । हामी स्थानीय तहको निर्वाचन भएको कारणले स्थानीय मुद्धाहरु नै घोषणापत्रमा समावेश गर्नुपर्छ र स्थानीय समस्या र अन्तरविरोधहरु हल गर्ने घोषणापत्र बनाउनुपर्छ भन्ने मान्यतामा छौं । जनताका आवश्यकता, समस्या र भावना समेटिएका यथार्थवादी घोषणापत्र सबै पालिकाले निकालुन् र केन्द्रबाट मार्गनिर्देशन गरोस् भनेर जानीबुझीकन नै अपिल प्रकाशित गरिएको हो ।

गठबन्धनको कारणले गर्दा संविधानमा व्यवस्था गरिएको महिला प्रतिनिधित्व घट्ने देखिएको छ नि ?
तपाईले भन्नुभएको कुरा प्राविधिक रुपले साँचो हो । किनभने निर्वाचन सम्बन्धी कानुनमा उम्मेदवारी दिँदा एउटै पार्टीबाट भएमा एक पदमा महिला अनिवार्य भन्नेछ तर गठबन्धन गर्दा वा फरक पार्टीको हकमा पनि एउटा पदमा महिला अनिवार्य भन्ने व्यवस्था गरेको छैन । गठबन्धनको कारणले कानुनतः महिलाको प्रतिनिधित्व कम हुने खतरा भएकै हो । हुँदो रहेछ । हामीले गठबन्धनमा छलफल गर्दा सकेसम्म महिलाको संख्या घट्न दिनु हुँदैन भनेर भनियो । अलग–अलग पार्टीबाट उम्मेदवारी दिँदा पनि एउटा पार्टीबाट पुरुष र अर्को पार्टीबाट महिला दिने व्यवस्था गरौं भनेर छलफल गरियो, मिलाउन कोशिस पनि गरियो तर गर्दा गर्दै पनि भनेजस्तो हुन सकेन । अझै भएको जस्तो लागेन ।

हाम्रो पार्टीको हकमा त केन्द्रीय कार्यालयको तर्फबाट सर्कुलर नै गरेर निर्देशन गरियो कि सबैतिर महिलालाई प्राथमिकता दिनुप¥यो, पालिकाको हकमा जिल्लामा कम्तिमा एउटा पालिका प्रमुख बनाउनु प¥यो र प्रत्येक पालिकामा कम्तीमा एउटा वडामा महिलाको नेतृत्व दिनुप¥यो भनिएको थियो । हाम्रो पार्टीमा महिलाको लागि जसरी ३५ प्रतिशतको व्यवस्था गरिएको छ, त्यही अनुसार निर्वाचनमा पनि सहभागिता गराउनको लागि ध्यान दिनुस् भनेर भनिएको छ । हाम्रो पार्टीबाट महिलाको सहभागिताको विषयमा कुनै कञ्जुस्याई वा समस्या होइन । तर गठबन्धनमा भने त्यस्तो हुन नसकेको जस्तो देखियो । त्यसो हुनुमा पनि नियतमा होइन, प्राविधिक वा कानुनी रुपले त्यस्तो परेको हो । मलाई लाग्छ, यो कानुन नै बदलेर दुइमध्ये एक पदमा महिला अनिवार्य हुनै पर्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । त्यसो गरेर मात्रै महिलाको प्रतिनिधित्व अझ बढाउन सकिन्छ ।

विशेष गरी भरतपुर महानगरपालिका जहाँ एकीकृत माओवादीले मेयरमा उम्मेदवारी दिएको छ । त्यहाँ नेपाली काँग्रेसका पुराना नेता बागीको रुपमा उठेको पाइएको छ । यस्तो अवस्थामा गठबन्धनका उम्मेदवार विजयको सुनिश्चितता कसरी गर्न सक्नुहुन्छ ?
६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत निर्णय लिइएको छ त्यसमा दायाँवायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध वागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन । किनकि यो दीर्घकालीन ढंगले राष्ट्रको, संविधानको, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गरिएको निर्णय हो । मलाई लाग्छ, महानगर र उपमहानगरपलिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उमेदवारी दिइएको छ त्यसमा सत प्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ । एकाध वागीले त्यसको मुलभूत परिणाममा कुनै असर पार्दैन ।

प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार  ५ : ५२ बजे