श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

नेकपा एकीकृत समाजवादीले टुङ्गो लगायो महानगर र उपमहानगरका उम्मेदवार



काठमाडौं – सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको छ । देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवार टुङ्गो लगाएको हो ।

यस्तै ११ उपमहानगरमध्ये समाजवादीले पाएको हेटौंडाको मेयर सहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उठ्ने उम्मेदवारको लगाइएको समाजवादीका एक नेताले जानकारी दिए । पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको ती नेताले जानकारी दिएका छन् । पोखरा मेयरका लागि ६ जनाको नाम सिफारिस भए पनि अन्तिममा आचार्यलाई पोखराको मेयरमा पार्टीले सिफारिस गरेको हो । यस्तै काठमाडौं उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बताए ।

श्रेष्ठलाई उम्मेदवार बनाएको सार्वजनिक गरेमा विवाद हुने भएकाले नाम भने गोप्य राखिएको स्रोतले जनाएको छ । आइतबार श्रेष्ठले काठमाडौं उपमेयरमा उम्मेदवारी दिने स्रोतको दाबी छ । यस्तै हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको पनि ती नेताले बताए। अरु नगरपालिका र गाउँपालिकामा प्रदेश र जिल्ला कमिटीले निर्णय गरेर सत्ता गठबन्धनबीच तालमेलको टुंगो लगाइने छ ।

प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार  ३ : ०५ बजे