आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

कोरोनाविरुद्धको खोप पर्याप्त भएपनि लगाउने घटे



काठमाडौं – कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिए पछि बुस्टर डोज लगाउनुपर्ने माग उठेको थियो । जनस्वास्थ्य विज्ञहरुले हरेक नागरिकलाई कम्तीमा एक डोज खोप दिनुपर्ने र फ्रन्टलाइनलाई बुस्टर दिनपर्ने सुझाव दिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि हरेक दिन २ लाख नागरिकलाई कोरोना खोप दिने र ५० प्रतिशत नागरिकलाई दुबै डोजको खोप दिएपछि मात्र बुस्टर डोज लगाएको थियो । तर अहिले भने कोरोनाविरुद्धको खोप धेरै भएर थुप्रिएको छ ।

अहिले कोरोनाविरुद्धको खोप लगाउन कोहि नआएपछि खोप थुप्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीका अनुसार ९४ प्रतिशतले अहिलेसम्म कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् ।

कुनैबेला यहि कोरोनाविरुद्धको खोप लगाउन मानिसहरुको भिड हुन्थ्यो । सरकारले खोप पुर्याउन नसकेको भन्दै सरकारको आलोचना समेत हुन्थ्यो । त्यसबेला सरकारले सबै खोप केन्द्रहरूमा खोप पठाए पनि त्यसका लागि चाहिने आवश्यक सिरिन्ज नपठाउँदा खोप कार्यक्रम प्रभावित बनेको थियो ।

यद्यपि स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका तथा खोपबारे अनभिज्ञ दूरदराजका गाउँका मानिसलाई खोप दिन ठूलो चुनौती बनेको छ । अझै पनि सिमित संख्याका केहि मानिसले कोरोनाविरुद्ध खोप लगाउन भने पाएका छैनन् । खोप भण्डारमा थुप्रिनु सरकारको ठुलो लापरबाही भएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।

विज्ञहरु सरकारले खोप थुपारेर राख्नुको सट्टा घरदैलो अभियान, घुम्ती सेवाका साथै धेरै आवातजावत हुने नाकामा गएर खोप अभियान चलाउन सुझाव दिन्छन् । तसर्थ सरकारी ढुकुटीमा रहेको कोरोनाविरुद्धको खोपहरु आवश्यक मात्रामा प्रयोग गरी नष्ट नहुँदै सदुपयोग गर्न आवश्यक छ ।

प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार  २ : ४० बजे