करोडौँको लगानीमा बनेका मेलम्चीका होटल पर्यटकको प्रतीक्षामा

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बाक्लिँदै गएको थियो । मेलम्ची, हेलम्बु तथा पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मेलम्ची बजारमा सानाठूला गरी दर्जन होटल बनेका थिए । 


करोडदेखि साना लगानीमा बनेका होटल मेलम्चीमा सञ्चालन भइरहेका थिए । विसं २०७२ को भूकम्पपछि लय समातेको होटल व्यवसाय २०७८ असार १ पछिको बाढीले तहसनहस बनायो । हेलम्बुका खोला किनारामा रहेका अधिकांश  होटल तथा रिसोर्ट बालुवामा बिलाए । मेलम्ची क्षेत्रमा रहेका केही बगे भने पुरिएका केही होटल जसोतसो सञ्चालकले आफैँ बचाएर सफा गरी अहिले सञ्चालन गरिरहेका छन् । 


आन्तरिक तथा बाह्य पर्यटकले राम्रै चहलपहल हुने मेलम्ची, हेलम्बु र पाँचपोखरीका होटल फेरि सुनसान जस्तै देखिन थालेका छन् । पर्यटकीयस्थल हेलम्बु, मेलम्चीको मुहान, पाल्चोक मन्दिर, पाँचपोखरी, इन्द्रावती तथा मेलम्ची घुम्न आउने पर्यटकको सङ्ख्या अहिले कम भएको स्थानीय होटल व्यवसायी रत्न श्रेष्ठ बताउँछन् ।


मेलम्चीमा बाढीपछि माछा पाउन थाले पनि बाढी अघि जस्तो ग्राहक नआएको उनी बताउनुँछन् ।  मेलम्चीका माछा खान बाढी अघि विभिन्न जिल्लाबाट मान्छे आउने गर्दथे । मेलम्चीका स्थानीय माछा, हेलम्बु पाँचपोखरी तथा मेलम्चीको चिसो पानीमा पालिएका ट्राउट माछा खान सार्वजनिक बिदा तथा अन्य समयमा विभिन्न जिल्ला तथा बाहिरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गर्दथ्यो । 


क्षेत्र नं.२ को मुख्य बजार रहेको मेलम्चीमा विभिन्न समयमा कार्यक्रम पनि हुने गर्दथे। पछिल्लो समय वर्षा आएमा बाढीको त्रासले ग्राहक बास बस्न डराउने गरेका छन्। बाढीपछि चुनावमा केही चहलपहल भए पनि फेरि यहाँका बजारमा चहलपहल निकै कम भएको छ। 


विभिन्न सुविधासहितका तीन र अन्य सानाठूला गरी मेलम्चीमा एक दर्जनभन्दा बढी होटल तथा लज सञ्चालनमा छन्। होटल मेलम्ची हेरिटेजका सञ्चालक सागरकुमार श्रेष्ठले विपद्को केही समयअघि सञ्चालनमा आएको होटल बाढीले क्षति गर्दा स्थानीय, प्रदेश तथा केन्द्र सरकारको साथ नपाएको बताए । उनले अझै पनि मेलम्चीलाई पुरानै अवस्थामा ल्याउन सकिने जनाउँदै  यसमा सरकार जिम्मेवार हुनुपर्ने बताए । मेलम्चीवासीले आफ्नै प्रयासमा सहयोग जुटाएर संरचना जोगाएको उनले स्मरण गरे। 


मेलम्चीको अर्को होटल मेलम्ची रिभर साइड इनका सञ्चालक जनकलाल श्रेष्ठले असार १ गतेको बाढी आउने क्रममै सयौँ ट्रिप ढुङ्गा ओसारेर लाखौँ रकम व्यक्तिगत खर्च गरी होटल बचाउन सफल भएको बताए । पुल नहुँदा वर्षायाममा चहलपहल निकै कम हुने गरेको उनले बताए । मेलम्चीमा भूकम्पपछि दैनिक १० लाखसम्म कारोबार भएको यहाँका स्थानीय होटल व्यवसायी बताउँछन् ।


हेलम्बुका बाढी प्रभावित ट्राउट व्यवसायी उत्तम भण्डारीले वैकल्पिक स्थानमा फेरि माछापालन सुरु गरी फेरि ट्राउट हब बनाउने प्रयासमा व्यवसायी रहेका जनाउँदै यसमा सरकारले पनि साथ दिनुपर्ने बताउँछन् ।


मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय सरकारले मात्र नदी नियन्त्रण गर्न नसक्ने भएकाले प्रदेश तथा केन्द्र सरकारको सहयोगमा बाढी प्रभावित क्षेत्रमा कार्य भइरहेको बताए। उनले दीर्घकालीन सोचका साथ काम गर्नुपर्नेमा जोड दिए। 


हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले व्यवसायीलाई सरकारले ब्याज छुट तथा अन्य सुविधा दिएर सहयोग गर्नुपर्नेमा जोड दिए। उनले बाढी प्रभावित व्यवसायी अत्यन्तै मारमा रहेको जनाउँदै केन्द्र तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्