समानुपातिकतर्फका सांसदकाे नामावली बुझाउने आज अन्तिम दिन

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ – राजनीतिक दलहरुले समानुपातिक तर्फका सांसदहरुको नाम आज निर्वाचन आयोगलाई बुझाउँदैछन् । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने आज अन्तिम दिन हो । 

 

जसका लागि राजनीतिक दलहरु अन्तिम गृहकार्यमा जुटेका छन्। मुख्य राजनीतिक दलहरूले समानुपातिक सांसदको टुंगो लगाउनेगरी शनिबार पार्टीको बैठक आह्वान गरेका छन्। 

 

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

 

सत्तारुढ दल नेपाली कांग्रेसले पनि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। समानुपातिक सांसदहरुको सूची टुंगो लगाउनेदेखि निर्वाचनको समीक्षा गर्नेसम्मको एजेण्डा रहेको कांग्रेसले जनाएको छ। 

 

त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि शनिबार बैठक बोलाएको छ। शुक्रबार दिउँसो बसेको पदाधिकारी बैठकले अन्तिम नामावली टुंगो लगाउन नसकेपछि पुनः आजका लागि बैठक बोलाइएको छ। 


अन्य दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बैठक आह्वान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटी बैठक, राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पाद समितिको बैठक र जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो। 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्