स्याङ्जामा ४ प्रतिशत मत बदर

बुधबार, मंसिर २१, २०७९

स्याङ्जा–स्याङ्जामा यस पटकको निर्वाचनमा बदर मतको सङ्ख्या घटेको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा खसेको मतको करिब ४ प्रतिशत मत बदर भएको हो । 


प्रतिनिधिसभातर्फ खसेको १ लाख ४२ हजार ८३४ मतमध्ये ४ हजार ४२ मत बदर भएको छ । यहाँ २ प्रतिनिधिसभा सदस्य चयनको लागि खसेको मत मध्ये २ दशमलब ८२ प्रतिशत मत बदर देखिएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।


यसैगरी, ४ प्रदेशसभामा १ लाख ४० हजार ४०४ मत खसेको थियो । ती मध्ये ५ हजार ५६४ मत बदर थिए । प्रदेशसभामा ३ दशमलब ९६ प्रतिशत मत बदर भएको निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले जानकारी दिए । मरासिनीका अनुसार प्रतिनिधिसभा क्षेत्र –१ मा ७२ हजार २९२ र क्षेत्र –२ मा ७० हजार ५४२ मत खसेको थियो । ती मध्ये क्षेत्र –१ मा २ हजार २०५ र क्षेत्र –२ मा १ हजार ८१७ मत बदर भएको छ ।


यसैगरी, प्रदेशसभातर्फ क्षेत्र –१ (क) र (ख) मा ७० हजार ८९८ मत खसेकोमा ३ हजार २१ मत बदर र प्रदेशसभा क्षेत्र –२ को (क) र (ख) मा ६९ हजार ५०६ मत खसेकोमा २ हजार ५४३ मत बदर भएको छ । जिल्लाभरका १ सय ९९ मतदान स्थल र एक अस्थायी केन्द्रसहित ३२१ मतदान केन्द्रमार्फत मतदान भएको थियो ।


कार्यालयका अनुसार क्षेत्र –१ मा ५५ दशमलव ९३ प्रतिशत र क्षेत्र –२ मा ५९ दशमलव ९३ प्रतिशत मत खसेको थियो । स्याङ्जामा ५८ प्रतिशत मत खसेको थियो ।


स्थानीय तह निर्वाचनमा बदर मत संख्या धेरै भएपछि यसपटक भने मतदाता शिक्षा दिइएको थियो । स्थानीय तहमा निर्वाचनमाभन्दा प्रतिनिधि तथा प्रदेशसभामा थोरै निर्वाचन चिह्न र एउटा मतपत्रमा एकमात्र छाप लगाउन पाएकाले मत बदर कम भएको मतदाताको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्