जथाभावी टाङ्गिएका तार हटाउन सेवा प्रदायक सहमत

बुधबार, मंसिर २१, २०७९

वीरगन्ज–वीरगन्ज महानगरपालिकाले नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । 


महानगरका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा सेवा प्रदायक संस्थाका प्रतिनिधिलाई जथाभावी टाङ्गिएका तार व्यवस्थित गर्न निर्देशन दिएका हुन् । 


जथाभावी टाङ्गिएका तारका कारण नगरको सौन्दर्यता बिग्रिनुका साथै दुर्घटनाको जोखिम समेत देखिएकाले व्यवस्थित गर्न महानगर प्रमुख सिंहले निर्देशन दिए । सेवा प्रदायक संस्थाहरूले सहयोग नगर्दा महानगरको अभियान पूरा हुन सकिरहेको छैन । इन्टरनेट सेवा प्रदायक संस्था र केवल टिभीका प्रतिनिधिलाई बोलाएर जथाभावी टाङ्गिएका तार व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।


बैठकमा पहिलो चरणमा वीरगन्जको आदर्शनगर क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थित गरेर अभियान अघि बढाउने सहमति भएको छ । अभियानलाई सार्थक बनाउन शुक्रबारदेखि अव्यवस्थित रूपमा छरिएका तार हटाउन सुरु गर्ने बैठकले सर्वसम्मत निर्णय गरेको महानगरको आइटी शाखाका बृजेश प्रधानले जानकारी दिए । 

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्