संसद सचिवालयको पत्र षडयन्त्रमूलक : सर्वोच्च बार अध्यक्ष

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ–सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको ‘क्लिन चिट’ षडयन्त्रमूलक भएको टिप्पणी गरेका छन् । उनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिनेसमेत बताए ।


अदालत परिसरमा बारका पदाधिकारीहरूले धर्नामा बसेका बेला पत्रकारहरुसँग कुरा गर्दै  उनले भने, ‘संसद अधिवेशन बस्न बाँकी छ । सचिवालयबाट यसरी पत्र आउनु भनेको षडयन्त्रमूलक कुरा हो । यो कुरा कानुन र संविधान अनुसार मिल्दैन ।’ 


उनले महाअभियोग प्रस्ताव प्रक्रियामा गइसकेपछि संसदले कुनै निर्णय नगरेसम्म त्यो निलम्बन फुकुवा हुँदैन भन्ने प्रष्ट व्यवस्था हुँदाहुँदै सचिवालयले यसरी षड्यन्त्रमूलक चिठी स्वीकार्य नभएको बताए ।


२०७८ फागुन १ गते प्रधानन्यायाधीश जबराको कार्य सम्पादन राम्रो नभएको भन्दै सत्ता गठबन्धनका सांसदहरुले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसलगत्तै जबरा निलम्बनमा परेका थिए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्