प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार

बुधबार, मंसिर २१, २०७९

गोरखा–प्रतिनिधिसभा गोरखा–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् । 


उनले उम्मेदवार प्रतिनिधि भगवती भट्ट तिवारीमार्फत निर्वाचन खर्च विवरण पेस गेका हुन । सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको प्रचण्डले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।


मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । गोरखा–२ को मतदाता सङ्ख्या, क्षेत्रफल र मतदान केन्द्रको आधारमा प्रतिनिधिसभा तर्फ २९ लाख रुपैयासम्म खर्चको हद तोकिएको थियो । गोरखामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये ४९ मध्ये १९ जनाले बुधबारसम्म खर्च विवरण बुझाएका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्