चीनका पूर्वराष्ट्रपति चियाङको अन्तिम संस्कार सम्पन्न

मंगलबार, मंसिर २०, २०७९

काठमाडौँ–चीनका पूर्वराष्ट्रपति चियाङ चमिनको अन्तिम संस्कार सम्पन्न भएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सी चिनफिङको अगुवाइमा सिंगो पोलिट्ब्युरोले चियाङप्रति सम्मान प्रकट गरेको थियो ।


सो क्रममा सहरभरि साइरन बजाइएको थियो । चियाङकी पत्नी वाङ यपिङ ह्विलचेयरमा बसेर अन्तिम संस्कारमा सहभागी भएकी थिइन् ।


कोभिडसम्बन्धी कडा नीतिनियमको विरोध भइरहेकाले तनावको अवस्थामा चियाङको अन्तिम संस्कार गरिएको हो । जसका कारण बेइजिङको सुरक्षा व्यवस्था अत्यन्त कडा गरिएको छ । 


१९९७ मा तेङ स्याओपिङको निधनपछि चियाङले ग्रेट हल अफ द पिपुलमा १० हजार मानिससामु ५० मिनेट तेङलाई सम्झिँदै भाषण गरेका थिए । चियाङलाई तेङले नै पार्टीको शीर्षस्थ नेतृत्वका लागि छनोट गरेका थिए ।


सो समारोहमा महाधिवेशनका बेला बिरामी देखिएका हु चिन्ताओ भने अनुपस्थित थिए । तर, सोमबार उनी सीसँगै चियाङको अन्तिम विदाइमा देखिएका थिए । त्यस्तै चियाङको दायाँ हात मानिने पूर्वप्रधानमन्त्री चु रोङ्ची पनि अनुपस्थित थिए । अवकाश पाएका वेन चियापाओ र चेङ चिङकाङ भने उपस्थित थिए । सीले चियाङका उपलब्धिहरुको चर्चा गर्दै पार्टीको नेतृत्वमा एकताबद्ध हुन सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्