किम्फ महोत्सव बिहीबारदेखि, ३० देशका ६० फिल्म प्रदर्शन हुने

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बिहीबार देखि सुरु हुँदैछ । हिमाल एशोसिएनको आयोजनामा हुने महोत्सव २६ गतेसम्म चल्नेछ । महोत्सवमा सहभागी फिल्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिनेछन् ।


किम्फको २०औं संस्करणमा ३० देशका ६० फिल्म प्रदर्शन गरिने छ । यस वर्ष नेपाली पानोरामा विधामा २२ वटा फिल्म प्रदर्शन गरिनेछ । विगतको तुलनामा नेपाली फिल्म निर्माता र नेपाली कथामा फिल्म बन्ने अभ्यास बढेको किम्फ फिल्म निर्देशक रम्यता लिम्बूले बताइन् ।


सन् २००० देखि शुरू भएको महोत्सवमा विशेष गरी पर्वत, पर्वतीय क्षेत्रका बासिन्दा, संस्कृति र वातावरण सम्बन्धी फिल्म प्रदर्शन गरिंदै आएको छ । यस वर्षको २०औं संस्करणमा पर्वतीय क्षेत्रका समस्या, चुनौतीलाई विशेष जोड दिएको किम्फ निर्देशक लिम्बूले बताइन् । ‘नेपाललाई विश्वसामु चिनाउन र नेपालको पर्यटनमा टेवा पु¥याउने उद्देश्यले दुई दशकदेखि किम्फ आयोजना गरिंदै आएको छ, यसले विश्वसामु नेपालको उचाइ बढाउनेछ’, लिम्बूले भनिन् ।


२०७२ को विनाशकारी भूकम्प र पछि कोभिड–१९ महामारीले गर्दा किम्फले आर्थिक कठिनाइ बेहोर्दै आएको थियो । यस पटक काठमाडौं महानगरपालिका लगायतका संघसंस्थाको सहयोगले हौसला मिलेको निर्देशक लिम्बू बताउँछिन् ।


किम्फ–२०२२ को उद्घाटनमा हेर्ने कथा शृङ्खला अन्तर्गत बाघको बंगारा प्रदर्शन गरिने छ । त्यस्तै, समापन समारोहमा अस्ट्रेलियन प्याराग्लाइडरले सगरमाथाबाट गरेको प्याराग्लाइडिङमा आधारित फिल्म फ्लाई फ्रम एभरेस्ट प्रदर्शन गरिने छ ।


महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाली पानारोमा अन्तर्गत उत्कृष्ट फिल्म र डकुमेन्ट्रीले ७५ हजार रुपैयाँ पाउनेछन् ।


त्यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सदस्य मुलकबाट छानिएको फिल्मले ‘वेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । दर्शकले मन पराएको फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ सहित ५० हजार रुपैयाँ पाउनेछ ।


किम्फमा भारतीय फिल्म निर्देशक प्रकाश झाको ‘किनोट स्पीच’ रहेको छ । झाले गंगाजल, राजनीति, आरक्षण, सत्याग्रह, डण्र्टी पोलिटिक्स लगायतका चलचित्र निर्देशन गरेका छन् ।


जुरीमा जर्मन लेखक, निर्देशक तथा निर्माता माइकल पज, नेपाली एनिमेशन फिल्म निर्माता तथा निर्देशक किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली छन् ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्