इरानमा जारी प्रदर्शनमा २ सय जनाको मृत्यु

आइतबार, मंसिर १८, २०७९

काठमाडौँ–इरानमा केही महिना यता भइरहेको प्रदर्शनका क्रममा २ सय जनाको मृत्यु भएको खुलासा भएको छ । इरानको एक सुरक्षा निकायले गत सेप्टेम्बर यता जारी प्रदर्शनका क्रममा २ सय जनाको मृत्यु भएको जनाएको हो । इस्लामिक रिभोलुसनरी गार्ड कोप्सका शीर्ष जनरल अमीर अली हाजिजादेहले देशमा जारी प्रदर्शनबाट उनीहरुको मृत्यु भएको भन्दै आगामी दिनमा थप हिंसा हुन सक्ने संकेत गरेका छन् ।


इरानको कारगारमा एक महिलाको मृत्यु भएपछि चर्केको आन्दोलनका कारण इरान अशान्त भएको उनको भनाइ छ । गत सेप्टेम्बरमा ड्रेसकोड पालना नगरेको आरोपमा पक्राउ परेकी २२ वर्षीया युवती महसा अमिनीको कारागारमा मृत्यु भएपछि त्यहाँ हिंसात्मक प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीहरुले दिवंगत इरानी नेता आयोतोला खोमेनीको घरमा समेत आगजनी गरेका छन् ।


राजधानी तेहरान लगायत अन्य शहर केन्द्रित प्रदर्शनका क्रममा सुरक्षाकर्मीले दमन गरेको भन्दै प्रदर्शनकारीहरु झन आक्रोशित बनेका छन् । उनीहरुले पछिल्लो समय सरकारी र निजी सम्पत्ति समेत तोडफोड गर्न थालेका छन् । प्रदर्शनकै क्रममा सयौं नागरिकहरू समेत पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्