सुनसरी क्षेत्र नं. ४ बाट सञ्चारमन्त्री कार्की विजयी

बिहीबार, मंसिर १५, २०७९

सुनसरी— नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३०  हजार ४८३ मत प्राप्त गरेका छन् । उनी ११२ मतको अन्तरले विजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३०  हजार ३७१ मत प्राप्त गरेका छन् । 

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् । 

उनी २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्रीसमेत भइसकेका छन् । 

मन्त्री कार्कीले २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं। ४ बाटै विजय हासिल गरेका छन्। विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रियरहनु भएका नेता कार्की  नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् । 

 मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भएको औपचारिक प्रमाणपत्र भने प्रदान गर्न बाँकी छ । समानुपातिकतर्फको समेत मतगणना सकिएपछि विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०५:४२
प्रतिक्रिया दिनुहोस्