अहिलेसम्म प्रधानमन्त्री कार्यालय नै राम्रोसँग चलेको छैन : गगन थापा

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले हालसम्मका प्रधानमन्त्री कार्यालय नै राम्रोसँग नचलेको बताएका छन् । सेजनले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्री कार्यालयले आउटपुट आउने काम नगरेको बताएका हुन् । 

नेपाली कांग्रेसबाट संसदीय दलको नेताको चर्चा गर्दै आएका उनले देशलाई आर्थिक रुपमा समुन्नत गर्नका लागि सबै भन्दा पहिला प्रधानमन्त्री कार्यालय राम्रो हुनु आवश्यक रहेको बताए । उनले भने, ‘म धेरै प्रधानमन्त्री र सरकार तथा प्रतिपक्षको बेन्चमा पनि बसेर काम गरेँ । त्यसले के सिकेको छु भने प्रधानमन्त्री कार्यालयले गर्ने काम राम्रोसँग गरेको छैन।’

उनले अगाडि थपे,  ‘सरकार परिवर्तन भएपछि आफ्नो अनुसारका सचिवहरुलाई मन्त्रालयमा पठाइन्छ। विपक्षीलाई ल्याएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राखिन्छ। सचिवहरु पनि झुलेर बसेका हुन्छन्। उनीहरु मलाई यहाँ तानिदियो भन्छन् तर काम गर्दैनन् ।’

उनले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने सचिवहरु सबै भन्दा तगडा हुनु पर्ने बताए । उनले भने, ‘म प्रधानमन्त्रीको कार्यालयमा छु। यही कार्यालयले देश चलाउने हो। मन्त्रालय चलाउने हो भनेर हामीले किन बुझ्दैनौँ । जुन दिन प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयले काम दिनु पर्छ हामीले त्यो काम र मन्त्रालयलाई समान्तर हेर्नु पर्छ भन्ने बुझ्छ। राम्रा सचिव र काम गर्न सक्ने सचिवलाई मात्र प्रधानमन्त्रीको कार्यालयमा तान्छ र देशले फरक बाटो लिन्छ ।’

प्रधानमन्त्रीको सचिवालयमा बस्ने सबै सदस्यहरु योग्य भएको दिनमा हामीले सोचेको परिवर्तन आउछ । अहिलेसम्म पञ्चायत कालमा प्रतिरोधको राजनीति गरेका नेताले काम गरिरहेका कारण त्यस बेलाकै आर्थिक शिक्षा लागु भइरहेको थापाको भनाइ छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०५:१२
प्रतिक्रिया दिनुहोस्