श्रीमान् श्रीमती नै सांसद,

श्रीमतीलाई सुरक्षित गर्न खोज्दा यी नेता भने आफैँ पछारिए
बिहीबार, मंसिर १५, २०७९


काठमाडौँ – नेपाली राजनीतिमा आफ्ना र आफन्तलाई चुनावी टिकट दिनु र सांसद मन्त्री बनाउनु कुनै नौलो विषय होइन । क्षमतावान र निष्ठावान् कार्यकर्तालाई पाखा लगाउँदै आफू निकटकालाई मात्रै अवसर दिने परम्परा राणाकालीन व्यवस्थादेखि नै संस्कृति बन्दै आएको छ । यही संस्कृतिको उपज यसपालिको निर्वाचनमा पनि राजनीतिक योगदान दिएका कार्यकर्तालाई पन्छ्याउँदै शीर्ष नेताहरूले आफू निकटकालाई नै अवसर दिएको पाइएको छ । अझ केही नेताहरू त श्रीमतीहरूलाई समेत संसद्को टिकट बाँडेको भन्दै आलोचित समेत बने  । 

 

धनुषाका चार निर्वाचन क्षेत्र मध्य दुई निर्वाचन क्षेत्रबाट नेकपा एमालेका सचिव रघुवीर महासेठ दम्पती विजय भए । रघुवीर महासेठ धनुषा क्षेत्र नं ४ बाट विजय हुँदा महासेठ पत्नी जुली कुमारी महतो धनुषाकै क्षेत्र नं ३ बाट विजय भइन । महासेठले पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका काँग्रेस नेता महेन्द्र यादवलाई पराजित गरे भने जुली कुमारी महतोले सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपा नेता अनिलकुमार झालाई पराजित गर्दै निर्वाचित भइन । महासेठ दाम्पदीले त प्रत्यक्ष तर्फबाटै चुनाव लडे र राम्रै मतान्तरसहित विजय पनि भए । उनीहरूले जित हारको जिम्मा जनतालाई सुम्पिए ।

 

तर प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा र जसपा अध्यक्ष अशोक राई पत्नी सुशीला श्रेष्ठले भने सेफ ल्यान्डिङ रोजे । पाँच वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फबाट नाम सिफारिस हुँदासमेत आरजु देउवा राणाले अन्तिममा समानुपातिक नै रोजिन । देउवा र राई दुवै सत्ता गठबन्धनको समर्थनमा विजयी भए । तर  उनीहरूले आफ्ना श्रीमतीलाई भने समानुपातिक बन्द सूचिको अग्रपंतिमा राख्दै दुवैको सांसद सुनिश्चित गरिदिएका छन् । 


 राजनीतिक विष्लेशक विष्णु सापकाेटा याे प्रवृत्तिदेखि खुसी छैनन् । उनी परिवर्तन गर्न लागेकाे हाे भन्दैमा त्यसकाे ब्याज खान पाउनु पर्छ भन्नु गलत भएकाे बताउँछन् । परिवर्तनकाे लागि गरिएकाे आन्दाेलन थियाे त्याे प्राप्त भयाे, उनले भने “कतिपय नेताहरूले कसरी डिफेन्स गर्छन् भने, हामी आन्दोलनमा लाग्दा परिवारका सबै लाग्दा हुने, अहिले सांसद दुवै उठ्न नहुँने ? भनेर गर्छन्, यो तर्क मिल्दैन । किनकि कि राजनीतिमा लाग्नु, आन्दोलनमा होमिनु भनेको परिवर्तनको लागि हो । त्यो प्राप्त भयो भनेको त भइसक्यो । अब त्यसको ब्याज, त्यसको प्रतिफल स्वरूप फेरी पदमा पुग्नै पर्छ भन्ने हुँदैन ।”

त्यसो त उम्मेदवारको नाम सिफारिस भएकै बेला पनि श्रीमान् श्रीमतीलाई नै सांसद बनाउन खोजिएको भन्दै जनस्तरबाट नेताहरूको आलोचना भएको थियो । तर नेताहरूले जति नै जे गरे पनि हामी नै त हो, हाम्रो विकल्पमा अरू को छ र भन्ने अहमसाथ अघि बढ्दा कतिपय प्रत्यक्षमा आफू लडेर श्रीमतीलाई समानुपातिकको सूचिमा राख्दा पराजित समेत भएका छन् । गृह मन्त्री बालकृष्ण खाणले आफू प्रत्यक्षमा लडेर श्रीमती मञ्जु खाणलाई समानुपातिकमा सुरक्षित गर्न खोज्दा आफैँ पराजित भए । यस्तै माओवादी केन्द्रका  वर्षमान  पुन र ओनसरी घर्ती दुवैले प्रत्यक्ष निर्वाचन लड्दा जनताले पुनलाई विजय गराउँदै घर्तीलाई पराजित गराए । 

 

त्यसो त कोही कसैको श्रीमान् वा श्रीमती हुँदैमा चुनाव लड्नै हुँदैन भन्ने होइन । राजनीतिक योगदान भएका जो कोही क्षमतावान पनि सांसद हुनु पर्छ र राज्यको उच्च तहमा पुगेर नीति नियम तर्जुमा गर्नुपर्छ । तर सानो तिनो राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण सधैँ भरी एउटै नेताका श्रीमान् श्रीमतीलाई मात्रै अवसर दिने काम भने बन्द गरिनु पर्छ । देश र जनताका लागि राजनीति भन्ने मूलधारका राजनीतिक दलका नेताहरू परिवारवादमा अल्झँदा राजनीति प्रति नै आम मानिसको गलत धारणाको विकास हुन पुगेको राजनीतिका जानकारहरूको भनाइ छ । परिवारकै सबै सदस्यले राजनीतिक पद पाउनु समावेशी ताको सिद्धान्तको पनि विरुद्ध रहेको उनीहरूको ठम्याइ रहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०३:२९
प्रतिक्रिया दिनुहोस्