दोलखामा आज पुनः मतदान, मतदातालाई सेना र प्रहरीको स्कटिङ

जनपद प्रहरी, सशस्त्र र नेपाली सेना गरेर १४ सय सुरक्षाकर्मी परिचालन
बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ– निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा आज (मङ्सिर १५ गते अर्थात् बिहीबार) मतदान हुदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यी मतदान केन्द्रमा कुल ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् ।


आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

        
आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो।  

कडा सुरक्षा व्यवस्था, वडा नाका सिल

सुरक्षाका हिसाबले अति संवेदनशील क्षेत्रमा यसपटक जनपद प्रहरी, सशस्त्र र नेपाली सेना गरेर १४ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।


मतदातामा हुने त्रास कम गर्न टोलटोलमै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन बिथोल्ने र मतदातामा त्रास देखाउने क्रियाकलापमा सुक्ष्म निगरानी गरेका प्रहरीले जनाएको छ ।


मंसिर ४ गते भएको निर्वाचनका क्रममा बैत्यश्वर ६ मा बुथ कब्जा भएपछि मतपेटिका फुटाइएको थियो । यस्तै जेफेको हेल्थ पोष्टमा अत्यधिक मत र बैत्यश्वरको ३ मा मतपत्रको अधकट्टी हराएको थियो । बैत्यश्वरकै २ मा मतदातालाई मत हाल्न नदिएपछि कम मत खसेको तथ्यको आधारमा निर्वाचन आयोगले पुनः निर्वाचन गराउन लागेको हो ।


मतदानको दिन वडाहरू सिल गरेर बाहिरका मान्छे हिँडडुलमा प्रतिबन्ध गरिएको प्रहरीले जनाएको छ । मतदान गर्न आउने र मतदानपछि फर्कने मतदातालाई जनपद सशस्त्र र नेपाली सेनाले सुरक्षासहित घरसम्म फर्कने व्यवस्था गरिएको छ ।


खासगरी यी मतदानस्थमा मतदानका लागि आउने मतदातालाई ढुङ्गा हिर्काउने, गौंडामा ढुकेर आक्रमण गर्ने गरिएको छ । मतदातालाई प्रलोभन र त्रास दुवै पार्ने भएकाले सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।


मतदानका लागि १० जना मतदान अधिकृतसहित ८८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ००:१४
प्रतिक्रिया दिनुहोस्