चीनमा शून्य कोभिड नीति विरूद्धको प्रदर्शन दबाउन उच्च निर्देशन

बुधबार, मंसिर १४, २०७९

काठमाडौँ–चिनियाँ कम्युनिष्ट पार्टीको उच्च सुरक्षा निकायले ‘शून्य कोभिड नीति’ विरुद्धको प्रदर्शन दबाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।
सोही नीति विरुद्धको प्रदर्शन विभिन्न शहरहरूमा फैलिंदै गएपछि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक तथा कानूनी आयोगले बदलाको गतिविधिमा संलग्न घुसपठैया आक्रामक समूहहरू माथि आवश्यक कदम चाल्न निर्देशन दिएको हो । सामाजिक सुब्यवस्था खल्बल्याउने आपराधिक तत्वहरु विरुद्ध प्रतिवद्ध कदम आवश्यक भएको भन्दै सो आयोगले सबै खाले उपाय अवलम्बन गरी सामाजिक स्थिरता कायम गर्न भनेको हो ।
गत साता सिञ्चियाङ प्रान्तको राजधानी युरूम्छिमा एउटा अपार्टमेन्टमा आगलागी हुँदा पनि मानिसहरु घरबाहिर निस्कन नपाएपछि चीनमा शून्य कोभिड नीतिको विरोध सुरू भएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागेका थिए । सडक प्रदर्शन सरकारी विरोधी आन्दोलनमा परिणत हुने खतरा बढेपछि चीनका विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई छुट्टी दिएर घर पठाएका छन् ।
बेइजिङ र साङहाइमा प्रहरीले प्रदर्शनकारीहरुलाई लखेटेका छन् । सरकार कठोर रूपमा प्रस्तुत हुने संकेत आएपछि प्रदर्शनहरु शिथिल पनि हुँदै गएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०४:५९
प्रतिक्रिया दिनुहोस्