साउदी अरबका युवराज मोहम्मद बिन सलमानद्वारा सबैभन्दा ठूलो विमानस्थल निर्माण गर्ने घोषणा

मंगलबार, मंसिर १३, २०७९


काठमाडौँ—साउदी अरबका युवराज मोहम्मद बिन सलमानले रियाद विमानस्थललाई प्रमुख उड्डयन केन्द्रमा परिणत गर्ने घोषणा गरेका छन् । यसपछि १२ करोड यात्रुले यो विमानस्थलबाट यात्रा गर्न सक्नेछन् ।

साउदी अरेबियाको सरकारी प्रेस एजेन्सी एसपीएका अनुसार सन् २०३० सम्ममा विमानस्थलको रुपान्तरणको काम पूरा हुनेछ । साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोष (पब्लिक इन्भेस्टमेन्ट फण्ड अर्थात पिआइएफ) लाई यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी दिइएको छ ।

यद्यपी यो विमानस्थल निर्माण गर्न कति खर्च लाग्ने हो भने खुलाइएको छैन ।

यो विमानस्थल ५७ वर्ग किलोमिटर अर्थात ५ हजार ७ सय हेक्टर क्षेत्रमा निर्माण हुनेछ । हालको किंग खालिद विमानस्थल पनि यसमा समावेश हुनेछ ।

सन् २०३० सम्ममा यातायात र लजिस्टिक हब बन्ने सरकारको रणनीतिको एउटा महत्वपूर्ण हिस्सा उड्डयन हो। रियाद एयरपोर्टलाई नयाँ एयरलाइन्स आरआईएको सञ्चालनको केन्द्र बनाइने भएको छ।

वास्तवमा, साउदी अरेबियाले अब आफ्नो अर्थतन्त्रको तेलमा निर्भरता कम गर्न आफ्नो भिजन २०३० मा ट्रिलियन डलर लगानी गरिरहेको छ। राजकुमार मोहम्मदले यो भिजन सुरु गरेका हुन् ।

एसपीए का अनुसार, विमानस्थल परियोजना सन् २०३० सम्ममा रियादलाई विश्वको शीर्ष १० ठूला अर्थतन्त्रमा समावेश गर्ने रणनीतिको एक हिस्सा हो। यहाँबाट २५० स्थानमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्य पनि छ ।

राजा सलमानले विमानस्थलबाट करिब एक लाख तीन हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने दाबी गरेका छन् । सन् २०५० सम्ममा यस विमानस्थलबाट १८ करोड ५० लाख यात्रु र ३५ लाख टन कार्गो प्रशोधन गर्ने लक्ष्य छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०६:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार