जनताको रोजाईमा नयाँ अनुहार

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – नयाँ संविधान जारी भएपछि दोस्रो पटक सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना यती बेला देशभर जारी छ । कतिपय निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । प्रारम्भिक मत परिणाम अनुसार यसपालिको निर्वाचनमा मूलधारका राजनीतिक दलहरूलाई स्वतन्त्र र नयाँ दलले चुनौती दिएका छन् ।

जनताले पनि मूलधारका राजनीतिक दललाई भन्दा पछिल्लो समय नयाँ र स्वतन्त्र उम्मेदवारलाई मत दिएका छन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने र सप्तरीमा सिके राउत, जनताको नयाँ खोजीमा परेका अनुहार हुन । यनी दुबैले लामो समय देखि विरासत बोकेका कांग्रेस, एमाले र मधेशवादी दलको गढ भत्काउँदै आफ्नो झण्डा गाडेका छन । 
 
नेकपा एमालेलाई क्लिन स्विप गर्ने भन्दै बनेको पाँच दलीय सत्ता गठबन्धन होस या सत्ता गठबन्धनलाई चुनौती दिन बनेको एमाले नेतृत्वको गठबन्धन होस, यती बेला उनीहरूलाई तीन महिना अघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी र चिहानमा पुर्‍याइएको भनिएको राजतन्त्रको मुद्दा बोक्ने राप्रपाले हम्मे हम्मे पारेका छन् । मूलधारका राजनीतिक दलबाट प्रधानमन्त्री भइसकेका देखि शीर्ष नेताहरूनै यती बेला पराजय उन्मुख छन् । भावी प्रधानमन्त्रीका रूपमा घोषित गरिएका कतिपय नेताहरूलाई पनि नयाँ अनुहारले पराजित गरिदिएका छन् । 

काठमाडौँ क्षेत्र नं २ बाट गठबन्धनको साझा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीलाई प्रधानमन्त्री बनाउने सम्मको आश्वासन अध्यक्ष प्रचण्डले दिएका थिए । तर काठमाडौँवासीले प्रचण्डको कुरा पत्याएननकाठमाडौँवासीले ओनसरीको ठाउँमा २७ वर्षीय सोविता गौतम रोजे । 

चुनाव जितेका ठाउँमा पनि मूलधारका दलले झिनो मतान्तरले मात्रै जितेका छन् । काठमाडौँ क्षेत्र नं १ मा प्रकाशमान सिंहले रवीन्द्र मिश्रलाई जम्मा १३२ मत हराउँदै विजय भएका हुन । काठमाडौँ १ मा नयाँ र वैकल्पिक दलबीचको मत बाँडिदा मिश्र पराजित  भएको धेरैको विश्लेषण छ । 

काठमाडौँ, चितवन, लगायतका ठूला सरहमा जनताले मूलधारका दललाई भन्दा पनि नयाँ अनुहारलाई मत दिएका छन् । दश क्षेत्र रहेको काठमाडौँमा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका चार उम्मेदवार विजय भएका छन् भने काठमाडौँलाई आफ्नो विरासतको जिल्ला मान्दै आएको एमालेले जम्मा एक सिट जितेको छ ।

काठमाडौँमा २, ६,७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजय भएका छन् भने काठमाडौँ क्षेत्र नं ९ बाट एमालेका कृष्ण गोपालले काठमाडौँबाट एमाले क्लिन स्विप हुनबाट बचाएका छन् । नेपाली का‌‌ग्रेसले पाँच सिट जितेको छ भने माओवादी केन्द्र त काठमाडौँबाट पत्ता साफ नै भएको छ । काग्रेसले काठमाडौँमा १,३,४,५ र १० नं क्षेत्र जितेको छ । 

यसपालिको निर्वाचनमा जनताले नयाँ दललाई मात्रै होइन पुरानै दल भित्र पनि नयाँ अनुहारलाई अघि सारेका छन् । यसपालिको निर्वाचनमा जनताले अघिल्लो निर्वाचनमा विजय बनाएका उम्मेदवारलाई यसपालि पराजित गरिदिएका छन् । 

पहाडी र हिमाली जिल्लामा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी अघि देखिएका बेला मधेस प्रदेशमा जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीको उदय हुने प्रारम्भिक मत परिणामले देखाएको छ । कैलाली,बर्दिया लगायतका जिल्लामा नागरिक उन्मुक्ति पार्टीले मूलधारका पार्टीका उम्मेदवारलाई पराजित गरेको छ । मधेस प्रदेशको सप्तरी २ मा त जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तर सहित पराजित गरेका छन् । 

मधेस आन्दोलनसङै उदयका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको अवस्था पनि निकै नाजुक बन्ने देखिएको छ । सधैँ मधेस र मधेसी जनताका नाममा मत माग्दै केन्द्रीय नेताको बुई चढेर सधैँ सिंह दरबार र बालुवाटारको सवारी गर्ने जसपा र लोसपालाई यसपालि जनताले गतिलो झापड दिएका छन् । मधेस आन्दोलनका मुख्य नेताकै आगामी राजनीतिक यात्रा सङ्कटमा पर्न कतिपयको मत छ । 

“हाम्रा परम्परागत पार्टी जुन छन्, तिनीहरूका चल्ने जुन तरिका छ र आफूलाई व्यवस्थापन गर्ने जुन शैली छ, सँगसँगै जनतालाई सम्बोधन गर्ने जुन शैली छ, ती विषयहरूमा पार्टीहरू चुकेका छन् । त्यस कारण अहिलेको चुनावी माहौल एक सिकसिमको असन्तुष्टि, एक किसिमको नकार किसिमबाट अघि बढेको अवस्थामा मानिसहरूले विकल्प खोजिरहेका थिए र त्यही विकल्पको रूपमा घण्टीको उदय भयो । ” विश्लेषक प्रा.डा रमेश भट्टराई भन्छन् ।

प्रारम्भिक समानुपातिक तर्फको मत परिणाम अनुसार पनि मूलधारका राजनीतिक दल भन्दा नयाँ र वैकल्पिक दल नै अघि देखिएका छन् । प्रारम्भिक मत परिणामलाई आधार मानेर विश्लेषण गर्ने हो भने पनि जनताले अब देशमा विकल्प खोजेको प्रस्टै देखिएको छ । सधैँ जेल र नेलको कथा र व्यथा सुनाउँदै साम दाम दण्ड भेदको शैली अपनाउँदै चुनाव जितिन्छ भन्ने नेताहरूको मानसिकतालाई जनताले पराजित गरिदिएका छन् । अन्धा धुन्दा आश्वासन र सपनाका पोका मात्रै बाँडेर जनताले मत दिँदैनन् भन्ने शिक्षा जनताले यसै निर्वाचनबाट मूलधारका दललाई दिएका छन् । 

युवा र विद्यार्थीको राजनीतिमा योगदान भन्दै सडकमा टायर बाल्ने र विश्वविद्यालयमा तालाबन्दी गर्दे शिक्षकलाई कालो मुसो दल्ने प्रवृत्ति अब अन्त्य हुनु पर्छ भन्ने सन्देश पनि यही निर्वाचनले दिएको छ ।

पचास वर्षमा विद्यार्थी र ६० वर्षमा युवा नेता हुने पुस्तालाई सबिता,तोसिमा र ज्ञानेन्द्र साहहिले घण्टी बजाइदिएका छन् । स्थानीय तहकै निर्वाचनमा जनताले विकल्प खोजेको सङ्केत गरेका थिए । तर मूलधारका दलले यो कुरा बुझेनन् । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेर स्वतन्त्र र नयाँ दलबाट उम्मेदवारी दिएका उनीहरूलाई हाँसो मजाकको विषय बनाए ।

तर निर्वाचनमा भने उनीहरुलाईनै निर्वाचित गरे । जनतालाई भ्रममा पार्न सकिहालिन्छ नि भन्ने हेतुले बारम्बार विवादमा मुछिएका व्यक्तिलाई अघि सार्दा मूलधारका दलले यो निर्वाचनमा ठुलो क्षति व्यहोरेका छन् । आगामी दिनमा पनि मूलधारका दलहरू नसुध्रिए आगामी निर्वाचनमा अहिले देखिएको वैकल्पिक शक्ति झनै ठूलो बनेर खडा हुने निश्चित छ । 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्