७० तलाको सर्वाधिक अग्लो मन्दिर

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – संसारको सबै भन्दा अग्लो मन्दिर भारतको वृन्दावनमा निर्माण भइरहेको छ । चन्द्रोदय मन्दिर नाम दिइएको उक्त मन्दिर आधुनिक प्रविधिको प्रयोगमार्फत बनाइँदै छ । मन्दिर भूकम्प प्रतिरोधी हुनुका साथै हुदहुद जस्तो भयङ्कर आँधी तुफानले पनि असर नगर्ने बताइएको छ । सन् २०१४ मा १ सय ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हुदहुद तूफानले भारतको आन्ध्र प्रदेशमा भयङ्कर विध्वंस  मच्चाएको थियो । यस्तो आँधी समेत सहन सक्ने क्षमता राख्ने चन्द्रोदय मन्दिर इस्कन सोसाइटी नामक संस्थाले निर्माण थालेको हो । मन्दिरका प्रमुख आर्किटेक्ट सिख धर्म मान्ने जे जे सिंह हुन् । त्यस्तै, अर्को आर्टिटेक्ट मुस्लिम समुदायका छन्, जो अमेरिकी कम्पनीका तर्फबाट जोडिएका हुन् । यसका लिफ्टचाहिँ डिजाइनर इसाई धर्म मान्छन् । यस मन्दिरको उचाइ २ सय १० मिटर हुनेछ भने कुल ७० तला रहनेछन् । भारतका प्रसिद्ध धनाढ्य मुकेश अम्बानीको एन्टिलिया भवनको उचाइ अहिले १ सय ७० मिट छ र यसमा २७ तला छन् । चन्द्रोदय मन्दिर पिरामिड शैलीको विकसित शैलीद्वारा बनाइँदै छ । सन् २००६ मा यस मन्दिरको परिकल्पना गरिएको थियो । त्यसको ८ वर्षपछि सन् २०१४ मा काम सुरु भई सन् २०२२ भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएर काम भइरहेको छ ।   साभार: ‘अनौठा कुरा’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्