रविन्द्र मिश्रलाई पच्छयाउँदा... (फोटो फिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं क्षेत्र नम्बर १ मा अहिले सबैको आँखा गाडिएको छ । आगामी मंसिर ४ हुने निर्वाचनमा काठमाडौँ–१ मा कसले बाजी मार्ला भन्ने विषय यतिबेला सबैको चासो बनिरहेको छ । काठमाडौँ–१ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पाँचौपटक पनि जित्ने दाउमा छन् । २०७४ को चुनावमा प्रकाशमान सिंहसँग तत्कालीन विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको लडाइँ चलेको थियो । तर मिश्र चुनावी लडाइँमा झिनो मतले पछारिए । उनै मिश्र फेरि प्रकाशमानसँग भिड्न आएका छन् । ‘रिम्याच’मा छन् रविन्द्र र प्रकाशमान । यसअघि विवेकशीलबाट भिडेका रविन्द्रको बाटो यसपटक फरक छ । उनी राप्रपाबाट काठमाडौँ–१ मा चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले काठमाडौँ–१ का मतदातासमक्ष पुगेर पटकपटक जिताएर पठाएका नेताले तपाइँको लागि के गरे ? भन्दै प्रश्न गरिरहेका छन् । सानो भूगोल तर ठूलो संख्यामा मतदाता रहेको काठमाडौँ–१ मा नेकपा एमालेले युवा नेता किरण पौडेललाई चुनावी मैदानमा खटाएको छ । उनी सो क्षेत्रमा पहिलो पटक चुनावी मैदानमा आएका हुन् । फरक बाटोबाट आएका मिश्रलाई अहिले कुन नजरले मतदाताले हेर्छन् त्यो पनि अहिले नै आंकलन गर्न कठिन भएको छ । मिश्र पहिला जम्मा ४०० मतले पराजित भएको बताउँदै मतदाताले आफूलाई यसपटक अवश्य रोज्ने बताइरहेका छन् । मिश्रले चरम राजनीतिक हस्तक्षेपको अन्त्य, भ्रष्टाचार नियन्त्रण तथा सुशासनको नारा लिएर काठमाडौँ–१ का मतदातालाई भेटिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्