पाको मान्छेका तथ्य कुरा बुझौं

शुक्रबार, मंसिर ९, २०७९

संसारभरी नै पाका मानिसहरू करिब ६० वर्ष माथिकालाई भनिन्छ र जानिन्छ । नेपालमा पाका मानिसलाई ‘बुढाखाडा’, ‘बलियाबाङ्गा बाघलाई, बुडाखाडा माघलाई’, ‘बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश’ जस्ता अति होच्याउने शब्द पनि प्रयोग गरिन्छ । तर, सँगसँगै ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’, ‘बुढापाकाको अर्ति माने बिग्रँदैन’ ‘बुढाबुढी मरे कुरा सरे’ भन्ने भनाई पनि छ । कतिपय जातजाति, समुदाय र संस्कृति अनुरुप पाका मानिससँग गरिने व्यवहार र भनाइ फरक पाइन्छन् । आजको विकसित समाजमा सञ्चारको चहलपहल र मानिसका भेटघाटले फेरि ‘संसार एक गाउँ’ अर्थात ‘बशुधैव कुटुम्बकम’मा नै फर्किरहेको छ । त्यसैको फल हिजोआज ज्येष्ठ नागरिकका बारेमा कुरा हुन थालेका छन् । व्यक्ति–व्यक्ति मात्र नभई, समाज र सरकारले पनि केही वर्षदेखि पाका मानिसका कुरा नगरी सुखै पाइरहेका छैनन् । पछिल्लो पटक नेपालमा बजारवादले बुई चढ्दा ‘खानका काल, नकमाउने वा घरको बोझ’को रूपमा हेरिने पाका मानिस विस्तारै ‘आदरणीय’ बन्न थालेका छन् ।

हुनत् यस्तो ‘सुनौलो उमेर’मा प्रवेश गर्दा पनि कसैकसैलाई चिन्ता हुन थाल्छ, पाको हुँदा चमकदमकभन्दा अशक्त र चाउरी पर्ने होला भनेर । समुदाय र परिवारको औषधि गर्ने धेरै चिकित्सक उमेर पाको हुनासाथ सबैलाई त्यस्तै हुन्छ भन्ने कुरामा सत्यता नरहेको जिकिर गर्छन् । हो, करिब ७० वर्ष पार गरेपछि मानिसमा केही शारीरिक र मानसिक परिवर्तनहरू आउँछन्, तर सबैले भन्ने गरेको दन्त्यकथा जस्तो पाका मानिसमा विपरीत असरहरू देखा नपर्न सक्छ । वास्तवमा जीवन भनेकै जीवनपर्यन्त गरिने स्वास्थ्यको मर्मत र संरक्षण हो । तपाईंको स्वस्थ्य बानी व्यहोरा छ र विस्तुर नगरी विगत जीवनभर नियम कायम राख्नुभएको छ भने दीर्घजीवन र सुखी पाका मानिसमा दरिन सक्ने संभावना बढी हुन्छ । केही अनुभवी र अनुसन्धाता चिकित्सकको सल्लाहहरू संयोजन गर्ने हो भने उमेर जतिसुकै बढे पनि पाको उमेरमा हामी स्वस्थ्य, चलायमान र तिक्ष्ण भइरहन सकिन्छ । संसारभरी धेरैतिर जस्तै नेपाली समाजमा चलेका केही भनाइलाई अनुसन्धाता चिकित्सक डा. कार्ल लाम्बेर्टका सल्लाहबाट प्रष्ट पारौं ।

१. पाका मानिसले कसरत गर्नुहुन्न ‘उमेरदार मान्छे पो बलियो बाङ्गो हुन्छ, बुढापाकाले कहाँ सकिन्छ ? तरुनातरुनी पो बलिया हुन्छन् र जीउको बल तह लगाउन कसरत गर्छन्’ भनिन्छ । त्यसैले, पाका मानिस धेरै जर्‍याकजुरुक गर्नुहुन्न र सकेसम्म ट्याउँट्याउँ बोल्ने अर्ती उपदेश दिने हो भन्छन् । ठूलो काम गर्न नसक्ने भएपछि बरु चुप लाग्ने र एकातिर बसेर आराम गरिरहनुपर्छ भन्छन् । तर, यो उल्टो भनाई हो । अनुसन्धानबाट देखिएको छ कि शारीरिक श्रम नगर्ने, आराममात्रै गर्ने र कसरत नगर्ने पाका मानिसमा अरु समस्याका साथै मोटोपना, मुटु रोग र मधुमेहको खतरा धेरै बढी रहेको पाईन्छ । बिग्रेको उपकरणजस्तो घरी यसो भयो, घरी उसो भयो भन्यो, आफैं केही उपाय गर्नुको सट्टा पैसा छ भने चिकित्सक भेट्यो, औषधि थप्यो । औषधिको रसायनले गर्ने बाह्य असरले अन्यत्र हान्छ, अर्को अङ्गमा असर गर्छ अनि अर्को समस्या देखिन्छ, फेरि कुद्यो अस्पताल वा चिकित्सक भेट्न । त्यस्ता पाका मानिसको बाँकी जीवनदैनिकी नियमित अस्पताल र चिकित्सकको भेटघाटमा नै बितिरहेको छ ।

नियन्त्रण यसरी गरौं पाका मानिसले पनि शरीरलाई दखल नपर्ने गरी गाह्रो होइन, हलुका शारीरिक व्यायाम गरौं । नियमित व्यायाम गर्नाले तपाईंको मुटु र फोक्सोलाई बलियो बनाउँछ र चिन्ता लिने मौका कम भएर तनाव व्यवस्थित गर्दछ । शरीरको तौल नियन्त्रण गर्दै सन्तुलनमा गरिने व्यायामले–विशेष गरेर हरेक दिनको नियमित हिँडाइ–तपाईंको हाडको स्वास्थ्य, बलियोपन र सन्तुलनको समस्या हल हुन थाल्छ । हाड बलियो र जीउको सन्तुलन भएमा तपाईंहरूमा लर्बराउने र पछारिने समस्या कम हुँदै जान्छ । यसो भएमा यस्तो उमेर समूहका पाका मानिसहरू ठूलो दुर्घटनाबाट बच्न सक्छन् ।

सावधानी यदी तपाईं पाका मानिसहरू पहिलो पटक व्यायाम गर्न जाँदै हुनुहुन्छ भने चिकित्सकसँग सल्लाह लिएर व्यायामशालाका प्रशिक्षकहरूलाई आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी गराउनु होला । हौसेर ‘म पनि सक्छु’ भनि गाह्रो व्यायाम सुरु गरि नहाल्नोस् । ‘योग गरे राम्रो’ भन्ने नाममा एउटा अति उच्च रक्तचाप भएका पाका मानिस शीर्षासन गर्दा सधैंका लागि बिदा भएका थिए ।

२. पाका मानिसले यौनक्रिडा गर्न सक्दैनन्ः महिला र पुरुष दुवैमा यौनक्रिडा वयस्क भए पछि हुने जैविक आवश्यकता र प्रक्रिया हो । धेरै उमेर पुगेपछि पाका मानिस यौनक्रिडा गर्न सक्दैनन् भन्ने कुरा गलत हो । रोगले सताइएका, जीर्ण भएका र स्वासप्रस्वास तथा मुटुको समस्याले बिरामी भएका बाहेक रक्तचाप, फोक्सोलाई परिश्रम पर्ने यो जैविक क्रिया गर्न पाका मानिस सक्षम हुन्छन् । हो, कसैकसैमा मानसिक चिन्ता बढी भएर अथवा आन्तरिक जैविक उत्तेजक रसायन उत्पादन नभएर अथवा पाठेघर वा अण्डकोषकै समस्या भएर यौनक्रियाप्रति अनाकर्षक हुन सक्छन् ।

नियन्त्रण यसरी गरौंः विभिन्न शारीरिक र भौतिक कारणले पाका मानिसमा यौनप्रति उदासिनता हुनसक्छ । आफू हुर्केको संस्कृति, चलन र बुझाई तथा यौनसाथीको व्यवहारले पनि यौनक्रियाप्रति नकारात्मक सोचाइ आउनसक्छ र अनिच्छुक होइन्छ । शरीर भावनामा परेको गलत प्रभावलाई हल गरेर पाका मानिसले पनि यौन आनन्द लिन सक्छन् । यौन चाहना र क्षमतालाई विभिन्न माध्यमबाट सम्बोधन गरेर यौनक्रिया गर्न र पुनः तरुनो हुँदाको जस्तै सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।

उदाहरणका लागि, महिला योनीको रस उत्पादन नभएर धेरै महिलाहरू आफ्ना पुरुष साथीका लागि अनाकर्षक बन्छन् । यस्तो समस्या महिनावारी नहुने भएपछि र भइरहँदा पनि हुनसक्छ । यस्तोमा यौनाङ्गमा चिप्लोपन बढाउने विभिन्न गुणका तेलहरू प्रयोग गर्नु लाभदायक हुन्छ । पुरुषहरूमा पनि लिङ्ग यौनक्रियामा तयार नहुने वा दह्रो नहुने समस्या हुनसक्छ । जैविक रसायनको कमी वा अनियन्त्रणले हुने यस्ता समस्याका लागि अहिले लगाउने र खाने प्रशस्त औषधि बजारमा पाईन्छन् । उचित विश्वसनीय चिकित्सकको सल्लाहमा सेवन गर्न सकिन्छ र आफ्नो यौनजीवन सुखमय बनाउन सकिन्छ । हुनत, बढी उमेरकालाई चिकित्सकसँग यस्तो उमेरमा यस्ता कुरा भनेर यौनका कुरा गर्न असजिलो लाग्नसक्छ । सम्बन्धित विषयका चिकित्सकको भनाई र सल्लाह मान्दा नै बाँकी जीवन सुखमय हुन्छ भने किन धक मान्नु ? कुरा गर्नै पर्दछ अन्यथा उदासिनता बढन सक्छ ।

३. पाका मानिसलाई कम सुते पुग्छः वयस्क र कम उमेरका मानिसलाई पाका मानिसको तुलनामा बढी सुत्न आवश्यक छ । तर ख्याल रहोस् पाका मानिसले वयस्कभन्दा बढीमा एक घण्टामात्र कम सुत्ने हो । उमेर बढी भएकाले सुत्नै पर्दैन, निद्रै लाग्दैन भन्ने कुरा गलत हो । रोग, चिन्ता वा अन्य कारणले निद्रा राम्ररी नपर्ने पाका मानिसले त अझ बढी आराम गर्नुपर्छ । त्यसैले पाका मानिसले हरेक रात ६ देखि ७ घण्टा निदाउने गरी सुत्नै पर्दछ ।

नियन्त्रण यसरी गरौँः राम्ररी नसुत्ने वा निद्रा नपरे धेरै खालका गल्ती कमजोरी देखिन थाल्छन् । पाका मानिसले मस्तसँग निदाउने बानी बसाल्नु पर्छ । ठीक समयमा सुत्ने, ठीक समयमा उठने र आवश्यक पर्दा दिउँसो एकछिन झकाउने गर्नुपर्छ, त्यस्तो भएन भने धेरै रोगहरू लाग्न सक्छन् र अलि दुःख पाइन्छ । कुनै कुनै औषधिहरू, कफी, मादकपदार्थ र धुमपानको असरले पनि कम निद्रा लाग्ने हुनसक्छ । सकेमा आफैं सचेत हुने र यथायोग्य बानी बसाल्ने नसकेमा सुताईविज्ञ चिकित्सकसँग परामर्श लिएर समस्या समाधान गर्नुपर्दछ ।

४. हाडजोर्नी समस्या र बाथ पाका मानिसलाई अवश्यंभावी छः उमेर र समयअनुसार हाडजोर्नीका समस्या हुन सक्छन, तर सधैं होइन । अमेरिकी स्वास्थ्य संस्थानका अनुसार ६५ वर्ष माथिका आधाजसो त्यहाँका पाका मानिसलाई मात्र सामान्य खालको हाडको बाथ भएको पाइएको छ । तिनीहरूको जाँच गर्दा समस्या भएको जोर्नी र रोगग्रस्तता भने उमेरजन्य खिइएर वा सुन्निएरभन्दा अन्य खतरनाक कारणले भएको पुष्टि भएको छ । त्यस्ता कारणमा मोटोपना, वंशानुगत र पहिले भएका जोर्नीका चोटपटक रहेको छ । जीउ दुख्ने, जोर्नी सुन्निने, हाड चर्कने वा हातखुट्टा करकर खाने समस्यामा ‘बुढेसकालको बाथ’ भनेर मात्र निच मानेर पाका मानिसले नहुने रहेछ, कारणहरू खोज्नु र उचित उपचार गर्नुपर्ने हुन्छ ।

नियन्त्रण यसरी गरौँः हाडजोर्नीका बाथ र समस्याको खतरा कम गर्नका लागि डा.लाम्बेर्टको सल्लाहलाई एक शब्द अनुसार आफ्नो गतिविधिको मापन बनाउनुहोस् । जोर्नीलाई जोड्ने ठाउँमा रहेका मांशपेसी र कुरकुरे हाडको स्वास्थ्य रक्षाका लागि नियमित, हलुका शारीरिक गतिविधि गरिरहनु होस् । यसबाट कुरकुरे हाड च्यात्तिने, हाडको टुप्पा खिइनबाट जोगिन्छ र मांशपेसीहरू बलियो हुँदै जान्छन । व्यायाम गर्नाले थप वजन बढ्न पाउँदैन र शरीरलाई थप भार पर्दैन । यसले तपाईँका जोर्नीमा थप भारी नपरेर हलुका भई चलायमान हुन मद्धत पुग्दछ, दुखाई घटछ र रोगको रुपमा रहन्न ।

मिलाएर गरौंः लामो समयसम्म जोर्नीहरूमा भार पर्ने एकोहोरो काम गर्दा बारम्बारको घर्षणले जोर्नीका जोडिने तन्तु र हाडको टुप्पो खिइने र फुटने हुनसक्छ । यस्तै कारणले हाडजोर्नी समस्या देखिन आउँछ । त्यसैले काम फेरीफेरी गर्नुहोस्–वजनदार सामान उठाउने र बोक्ने गरेपछि अलि लामो समय सोझो वजनबिना हिँडनु होस् अथवा साइकल वा मोटर हाँक्नुहोस् । बाथ भइसकेको छ भने पानीमा गरिने व्यायाम काम लाग्न सक्छ । पौडी खेल्ने वा विभिन्न तरिकाले सामान्य जीउ चलाउने काम पानीमा गर्दा जोर्नीहरूको राम्रो व्यायाम पुग्छ र स्वस्थ्य हुन सकिन्छ ।

अध्ययन अनुसन्धानले स्थापित गरेको छ कि पाका मानिसले नयाँनयाँ कुरा सिक्नमात्र नसक्ने होईन जीवनभरी सिकाईलाई बानी बनाएर धेरै लाभान्वित भएका थुप्रै उदाहरण छन् ।

५. छालाको क्रिमले उमेर घटाउँछः बजारमा उपलब्ध महंगा क्रिम, अनुहार र शरीरको आवरण छालामा दल्ने औषधिले के उमेरजन्य पाकोपनालाई उल्टाउन सक्ला त ? के चाउरीहरू, छाला झोल्लिएका लाम्टाहरू, काला दागहरू, पोतो र चायाहरू हराउलान त ? डा. श्रीमति लाम्बेर्टको भनाइ चाहिँ ‘अँ’ भन्दै ‘हुन नि सक्छ नहुन पनि सक्छ’ भन्छिन । छाला विशेषज्ञहरूले त्यस्तो भएको बाहिरी छालामा घस्नका लागि विधिसहित केही उत्पादन सिफारिस गरेका छन् । त्यस्ता क्रिममा यदि अम्लको मात्रा छ भने छालाको बाहिरी काँचुलीजस्तो पत्रमा सफाई गरेर तपाईंको छाला नरम, तन्किएको र चिल्लो देखिन सक्छ तर यो परिवर्तन त अस्थायी हो । केटाकेटीको कुपोषण भएको भए छाला चाउरिन्छ, नत्र चाउरिन्न । वयस्कको रोगव्याधमा छाला चाउरिन्छ, नत्र चाउरिन्न । बलियोबाङ्गो उमेरमा वयस्क मान्छेका बढनु जति मांशपेसी बढ्छन्, हाड र अरु अङ्ग बढेका हुन्छन । ति सबैलाई खोलको रुपमा काम गरिरहेको छाला त्यही अनुसार तन्किएको र ठूलो भएको हुन्छ । अब पाको उमेरमा भित्री अङ्ग उस्तै रहे पनि मांशपेसी घटेकै हुन्छ अनि बोसो पनि थेग्रीएको हुन्छ । अब बाहिर देखिने भनेको छाला नै हो । उमेरजन्य सुखा खुम्चिएका छाला र पाको भएर आएका दागहरू तपाईंका बाँकी जीवनका सम्पति हुन, ति तपाईँसँग नै रहन्छन् ।

नियन्त्रण यसरी गरौँः उपायजति सबै तपाईँको हातमा छ । तपाईँका छाला चिल्लो, चम्किलो, राम्रो र वयस्कको जस्तो देखिन सक्छः

धुमपान त्यागौँः

भर्खरका केही अनुसन्धानले देखाएको छ कि धुमपान गर्नेका मुख वरपरका छाला चाँडै चाउरिन्छन् । धुमपान नगर्नेभन्दा गर्नेको कम उमेरमा नै आँखाका तलपट्टि सुन्निएको जस्तो हुने र च्यापुको लोती झोल्लीने हुन्छ । पाको मानिसमा यो असर अझ बढी हुन्छ । अब मर्दा नै छोड्ने हो भनी निच नमारौँ, बरु जतिन्जेल बाँचिन्छ राम्रो देखिएर बाँच्नु मज्जा नि ! ‘यो उमेरमा पनि कस्तो पट्ठो वा पट्ठीे’ भनेको नराम्रो हुन्न, रमाईलै हुन्छ । बानी छ र सकिन्छभने धुमपान आजै छाडौं है ।

घामको असर रोकौँः घाम हामीलाई चाहिन्छ, खानेकुराबाट नपाईने भिटामिन शरीरमा लिन सूर्यको किरण हाम्रो छालामा परेपछि उत्पादन हुन थाल्छ । सित्तैमा पाईने यो अति आवश्यक पदार्थ शरीर बलियो र निरोगी बनाउन काम लाग्छ । तर घामको दहन काम लाग्दैन, छाला बिगार्छ । लुगा वा केही कुराले छोपिएको छाला र बाहिर देखिने छालाको रङ्ग हेर्दा फरक त देख्नु भएको होला ! कत्ति फरक पर्छ ? अबदेखि खप्न सक्ने केही बेर घाममा बसे पनि बाहिर फेर गर्दा बदली दिनमा पनि आफ्नो छालालाई समय अगावै सूर्यको प्रभावबाट बचाउन घामको असर रोक्ने वा नियन्त्रण गर्ने चस्मा, क्रिम र लुगा लगाउनु बेस हुन्छ ।

छालालाई तिर्खालु हुन नदिउँः आद्रता वा पानीको मात्रा कम भएमा छाला सुख्खा हन्छ । त्यस्तो छालामा बढी चाउरी पर्छ । हात, गोडा र अनुहारमात्र होइन ढाडको छालासमेत फुस्रो, खस्रो र दरफरिएको जस्तो देखिन्छ । पानी मात्र पिएर फुटेका छाला राम्रो हुँदैन बरु हातगोडा धोएपछि वा नुहाएपछि चिसो छँदै आद्रता कायम राख्ने झोलहरू दल्नु र लगाउनु राम्रो हुन्छ । त्यसले छालामा भएको आद्रतालाई किताबमा जिल्दाले झैँ ढाकेर धेरैबेर छालाको आद्रता कायमराख्न मद्दत गर्छ अनि छाला फुटन र चाउरिनबाट बचाउँछ ।

६. बुढो सुँगालाई सिकाउन सकिन्नः हुनत धेरै पहिलेदेखि भनिने यो भनाई हो तर हाम्रो मस्तिष्क केटाकेटी देखि नरोकिई वयस्क होइन्जेल विकसित भईरहन्छ । डा. लाम्बेर्टको भनाईमा यसो नभएको अध्ययन अनुसन्धानले स्थापित गरेको छ । पाका मानिसहरूले नयाँ–नयाँ कुरा सिक्नमात्र सक्ने होइन, जीवनभरी सिकाईलाई बानी बनाएर धेरै लाभान्वित भएका थुप्रै उदाहरण छन् । के आजका पाका मानिसले आफ्नो बालापन र वयस्क हुँदासम्म यसअघि कहिले नदेखेका मोबाईल, कम्प्युटर, माईक्रो ओभन, राईस कुकर, वासिङ्ग मेसिन, आदि चलाउन सिकेका छैनन् र ? महिला वा प्रौढ कक्षामा उमेर धेरै भएका महिला र पुरुषले पढन लेख्न सिकेका छैनन् र ? निरक्षरी महिला नै पचास वर्ष नाघेपनि पढन आएर एसएलसी पास गरेको त प्रेरणा महिला विद्यालय, ललितपुरलाई सोधे पनि थाहा पाईन्छ है । त्यस विद्यालयबाट पचासौंले उत्तिर्ण भएर उच्च शिक्षासमेत अध्ययन गरिरहेछन् ।

नियन्त्रण यसरी गराैँ: वैज्ञानिकहरूको भनाईमा बालबालिका र किशोरकिशोरीलाई भन्दा भिन्न प्रक्रिया पाका मानिसलाई सिकाउन प्रयोग गर्नुपर्छ । उहाँहरूलाई जाने, सुनेको र भोगेको पुराना कुरामा करगरेर हुन्न, अप्ठ्यारो पर्नेगरेर भन्न लगाउने होईन । बरु नयाँ तरिका र दृष्टिकोणबाट हरेक भनाई हेर्न मद्दत गरेर पुराना अप्रमाणित सोचाई र अवधारणाको विरुद्ध डटन सिकाउनु पर्छ । जस्तो पहिला कहिल्यै नपढेको विषयमा कक्षा लिन कोशिस गर्न लगाउनु होस् । नयाँ भाषा, सिप वा गाँठो फुकाउने वा शव्द भण्डार खेल सिक्न अभ्यास गराएर प्रतिष्पर्धा गराउने । उहाँहरूले नयाँ कुरामा चाख लिन थालिहाल्नु हुन्छ । यो भनेको व्यायाम अगाडी शरीरलाई तयारी बनाउन गरिने हातखुट्टा तन्काई जस्तै हो । मस्तिष्कलाई तन्काईयो भने अथवा केन्द्रीत गरियो भने यो बलियो, लचकदार र स्वस्थ्य हुन थाल्दछ । अनि सिक्न सकिहालिन्छ नि ।

७. जैविक आन्तरिक क्रिया सुस्त भएकाले मोटाईन्छः पाका मानिसमा जैविक आन्तरिक क्रिया उमेर बढदै गएपछि सुस्त हुँदै जान्छ भनेको ठिकै हो । यसको मतलब तपाईंको शरीरले चाहिँदो मात्रामा शक्ति खर्च गरेर अतिरिक्त कुरा नास गर्न सक्दै न । त्यसैले पाका मानिसमा देखिने पेट, छाती र कम्मरतिर थुप्रिएको भागलाई ‘बुढ्यौली मासु वा बोसो लागेको’ भन्छन् । तर त्यसो हुनैपर्छ भन्ने छैन, मुख्य कुरा तपाईँले कसरी सन्तुलन गर्ने भन्ने नै हो, मिलाउन सके चुस्त दुरुस्त शरीर बनाउन सकिन्छ ।

नियन्त्रण यसरी गर्नेः यस्तो मोटाईबाट स्वस्थ्य रहन सारिरीक तौल आवस्यक भएको जति राख्न सकिन्छ, यस्तो गरौँ नः

खाना चाहिनेमात्रः पाको हुन लागेपछि तपाईँको दैनिक कामगर्न शरीरलाई थोरैमात्र शक्ति चाहिन्छ । शरीरमा शक्ति आउने प्रमुख कुरा नै दैनिक गरिने खानपान हो । त्यसैले पाका मानिसले शरीरले गर्ने श्रम अनुसार कति र के के खान हुन्छ भनेर हेक्का राख्नु महत्वपूर्ण हुन्छ । सामान्यतया घरकाज गरिरहेका सक्रिय ६५ वर्ष वरपरका पुरुष मानिसलाई २४०० क्यालोरी आवश्यक हुन्छ भने महिला मानिसलाई १८०० क्यालोरी उत्पादन गर्ने खानेकुरा भए पुग्छ । त्यसैले त यस उमेरका मानिसलाई शारीरिक मर्मत उर्जा भएपुग्छ भनेर आम भनाई छ ।

शारीरिक कामः उमेर बढ्दै गएर पाका मानिस हुन लागे पछि हप्तामा न्यूनतम अढाई घण्टा मुटु र फोक्सोमा व्यायाम हुनेगरेर ठिक्क खालको कसरत गर्नै पर्छ । त्यस्तै, मांशपेसी बलियो बनाउन दुई पटक सकेको काम गर्नै पर्दछ । यस्तो शारीरि व्यायाम गर्न व्यायामशाला जान सक्नुहुन्छ । त्यस्तोमा जान मन लाग्दैन वा टाढा पर्छ वा पैसाको अपुग छ भने बगैँचामा काम गर्न सक्नुहुन्छ । यस्तो मिल्दैन भने पाका मानिस आफ्नो घरपालुवा आज्ञाकारी कुकुर लिएर बिहान बेलुका टहल्न सक्नुहुन्छ । केहि मिल्दैन यस्ता चाँजो भने सक्ने र थाक्ने गरेर सामाजिक जमघटमा गीतनाचमा भाग लिएर आफ्नो शरीरको व्यायाम पूरा गर्न सक्नुहुन्छ । डाक्टर लाम्बेर्टको भनाईमा स्वस्थ्य रहन हामी जसरी भएपनि सक्रिय र गतिशिल भईरहनु पर्छ, यसै गर्नुपर्छ भन्ने होईन, शरीरका सबै भाग चले पुग्छ ।

चिन्तारहितः लगातारको चिन्ताले पाका मानिसको शरीरको वजन विस्तारै बढ्न थाल्दछ । जैविक असरहरूका कारण पनि हुन्छ भने साथै चिल्लोचाप्लो, तिख्खर र सजिलै पाकेका बस्तु खानेहुनाले यस्तो हुन थाल्दछ । शारीरिक गतिविधि र श्रमले चिन्तारहित हुन मद्धत पु¥याउँछ । त्यसमाथि बेलाबेला आराम गर्ने, जीउ लुलो पारेर गरिने आधुनिक वा परम्परागत योगध्यान गर्ने र खानामा पथ परहेजले पनि वजन घटाउन मद्धत गर्दछ । हामी सबै पाका मानिसहरू सक्रिय र स्वस्थ्य भएको नै हेर्न चाहान्छौं । पाका मानिसहरू ८०–९० वर्षमा पनि काम गरिरहेका, नयाँ नयाँ कुरा सिकिरहेका र सकुशल डुलफिर गरिरहेका देखेर कस्लाई आनन्द नलाग्ला र ?

८. पाका मानिसहरू अप्ठ्यारा र एकलकाँटे हुन्छनः पाका मानिसहरू एकान्त चाहाने र एकालकाँटे हुन सक्छन । आफन्त प्रियजन गुमाएका अथवा नातेदार टाढा बस्छन भने उमेरिदा मानिस अन्तरमूखि भएर त्यस्तो स्वभाव विकसित हुनसक्छ । तर उमेर बढदै जाँदा आफ्नो सामाजिक जीवन खुम्चीने वा घटने गराउनु हुन्न । वास्तवमा यतिखेर तपाईँसँग पहिले कहिल्यै नभएको फुर्सद पनि हुनसक्छ । कुनै ठाउँमा सेवा गरिरहँदा वा केटाकेटी हुर्काउने बेला बरु तपाईँसँग सम्बन्ध विकास गर्ने वा सामाजिक जमघटमा बिताउने समय नमिलेको हुनसक्छ ।

नियन्त्रण यसरी गरौँः पाका मानिसलाई आफुलाई मनपर्ने, उस्तै उमेर समूहका र ईष्टमित्र भेटघाटगर्ने अवसर यस्तो उमेरमा धेरै हुनसक्छ । विश्वासिला साथीभाई भेटने, पुस्तकालयमा अध्ययन गर्ने, विषय मिल्ने ठाउँमा कक्षा लिने वा नौला र आफ्नो सिप अनुसार स्वयमसेवक भई विभिन्न सामाजिक संस्थामा आवद्ध हुने अवसर मिल्छ । केही नभए आफ्ना ऊबेलाका कक्षासाथीको जमघट गर्नुहोस्, कहिले स्कूलका, कहिले कलेजका, कहिले विश्वविद्यालयका । अनि कहीँ सार्वजनिक संस्था वा कार्यालयमा सेवा गरेको छ भने सेवानिवृत्तको भेला गर्नोस्, वा त्यस संस्थामा अझै काम गरिरहेका र निवृत्तको जमघट गराउनोस् । अनुभवको आदानप्रदान गर्नोस्, हेर्नोस त कति रमाईलो र आनन्द भई सामाजिक होईन्छ ?

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्